धरान : धरान-२० स्थित भालुढुंगा सामुदायिक वन समूहका कोषाध्यक्ष भीम बस्नेत पक्राउ परेका छन् ।

भालुढुंगा सामुदायिक वनमा काँचो सालको रुख काटिएको घटनाको अनुसन्धानको क्रममा कोषाध्यक्ष बस्नेतलाई सब डिभिजन वन कार्यालय विष्णुपादुकाले पक्राउ गरेको सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख तथा सो घटनाका अनुसन्धान अधिकृत राजेन्द्र यादवले बताए ।

यसअघि रुख काट्न गएका भनिएका ४ जना श्रमिकहरूको बयानबाट पनि कोषाध्यक्ष बस्नेतको काँचो सालको रुख कटानमा संलग्नता देखिएकोले पक्राउ गरिएको अधिकृत यादवले बताए । उनका अनुसार उनलाई पत्र काटेर सब डिभिजन वन कार्यालय बिष्णुपादुकामा बोलाइएको थियो । उनी आएर बयान लिने क्रममा उनलाई पक्राउ गर्नुपर्ने ठहरिए पछि पक्राउ गर्नुपरेको अधिकृत यादवले बताए ।

पक्राउ पर्नु अघि पनि कोषाध्यक्ष बस्नेतको प्रारम्भिक बयान लिइएको थियो भने आज नै पक्राउ पछि पनि बयान लिइएको अनुसन्धान अधिकृत यादवले बताए । यादवले भने,‘उहाँलाई छोडिँदैन, कानुन अनुसार प्रक्रिया अघि बढ्छ ।’ पक्राउ परेका कोषाध्यक्ष बस्नेतलाई वन कार्यालयको तरहरा स्थित हिरासतमा राखिएको छ । कोषाध्यक्ष भीम बस्नेतले भने यस भन्दा अघि रुख काटिएको घटनामा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिँदै आएका थिए ।

धरान-२० को भालुढुंगा सामुदायिक वन क्षेत्रमा अबैधरुपमा सालको रुख काटिएपछि धरानका मेयर तिलक राईको निर्देशनमा कोषाध्यक्ष बस्नेतको संलग्नतामा काटिएको भन्दै सो वन समूहका अध्यक्ष बुद्दीमान तामाङले सब डिभिजन वन कार्यालय विष्णुपादुकामा जाहेरी हालेका थिए ।

उनको दुई वटा जाहेरी अनुसार पहिलो पटक रुख कटाने ४ जनालाई पक्राउ गरी बयान लिइएर जनप्रतिनिधिको रोहवरमा छाडिएको थियो । त्यस पछि आज कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको हो ।