धरान : सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि प्रदेश सरकारले तयारी सुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । सवैपक्षको सहभागितामा बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताए । सामाजिक सङ्घ संस्था, सरोकारवाला व्यक्तिहरू सबैको सहभागिता आवश्यक रहेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताएका छन् । उनले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखद भएको बताए ।

यसै गरी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । सडक बालबालिकालाई उद्धार गर्ने काम भइरहेको राज्यमन्त्री गजमेरले बताए । उनले हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरूको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । उनले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए ।

22