धरान : धरान १४ विजयपुरको बाबा धाम मार्गकी कमली माया लिम्बुको घर पहिरोले भत्काई दिएपछि अहिले उनी अर्काको घरमा बस्नु परिरहेको छ ।

केही समय देखिनै पहिरोको उच्च जोखिममा परेको सो घर भदौ २६ गते पहिरोले बगाएर खोल्सामा झराई दिएको छ । नजिकैको घरहरू पनि पहिरोको उच्च जोखिममा परेका छन् । मानवीय क्षति नभए पनि कमलीले भनिन् “घर पहिरोले बगायो, घर बनाउन लागेको २५ लाख पनि पहिरोले नै बगायो ।”

कमली एकल महिला हुन् । उनका श्रीमान् बितेको १२ वर्ष भइसक्यो । कमलीका छोरा रोशन लिम्बूले मलेसियामा हुँदा जसोतसो कमाएको पैसाले बनाएको घर पहिरोले बगायो । लकडाउनले छोरा पनि घर आयो । उनले भनिन “कमाउने कोही छैन ।” नगरपालिकाबाट र वडाबाट जनप्रतिनिधिहरुले अनुगमन गरेर त्रिपाल दिएर पहिरो रोकथाम गरिरहेका छन् । नगरपालिकाबाट पाउने क्षतिपूर्ति भने पूर्ण आउने अवस्था छैन । यसो हुनुको कारण उनको घर ऐलानी जग्गामा रहेको हुँदा घर नक्सा पास भएको छैन ।

कमलीको घरसँग टाँसिएको गजेन्द्र बस्नेतको घर सहित अहिले ८ घर उच्च जोखिममा छन् । कसको घर कहिले बगाउँछ थाहा छैन । अहिले नगरपालिका र वडाले कमेरे चिम्टे माटो भिरालो जग्गामा टिनको छानो नभएर पक्की घर बनाएर घर बनाउनु गल्ती भएको बत्ताउँछन् । यसरी गल्ती भनिरहँदा हामीलाई बेलैमा सचेत गराउन नसकेर आर्थिक अवस्थामा कमजोर भएको समयमा बस्ती बसाउन पानी बत्ती किन दिएको त ? पहिरो पीडितको प्रश्न छ ।

उनीहरू भन्छन् चुनावमा भोट पाउने आशाले विभिन्न राजनीतिक दलहरूले यसरी जोखिम क्षेत्रमा बस्ती बसाउनाले प्रकोपको जोखिम बढेको स्थानियबासीहरुको भनाई छ । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुर हो । यहाँ रहेका मठ मन्दिरमा दर्शन गर्न देश विदेशबाट भत्तजनहरु आउने गर्छन् । यस्तो धार्मिक पर्यटकीय स्थल जाने बाबा धाम मार्ग दिनानुदिन सागुरिदै गइरहेको छ ।

यसरी सडक साँगुरिनु र अव्यवस्थित तरिकाले बस्ती बस्नेहरूको बारेमा धरान उपमहानगरपालिकाका मेयर, उपमेयरले अलिकति पनि चासो नदिएको उनीहरूको भनाई छ । अव्यवस्थित बसोबास रहेका बस्तीहरूको व्यवस्थापन गर्नका लागि बोल्दा र निर्णय गर्दा अर्को चुनावमा साथ नपाइने डरले जनप्रतिनिधि यस्तो अव्यवस्थित बसोबासको विषयमा अलिकति पनि बोल्न चाहादैनन् । बरु उल्टै उनीहरू कस्तो अवस्थामा कस्तो ठाउँमा बसिरहेका छन् ? नबुझी कन घर नम्बर बाँड्ने गरेका छन् । बाबा धाम मार्गको पहिरो गएको क्षेत्रमा पनि यसै गरिएको थियो ।

धरान १४ विजयपुरको बाबा धाम मार्गको त एक उदाहरण मात्र हो । पहिरो र खोलाको कटानबाट सुकुम्वासी बस्ती कुनै पनि अछुतो छैनन् । धरानमा सुकुम्वासी २०६९ साल देखी २०७२ सम्ममा १२ हजारको जनसङ्ख्याको अभिलेख रहेको छ । अहिले सम्ममा ३ हजार भन्दा बढी व्यक्तिको घरधुरी नम्बर वितरण भइसकेको र केहीको वितरण जारिरहेको अव्यवस्थित बसोबास तथा सुकुम्वासी व्यवस्थापनकी अध्यक्ष हिरादेवी राईले जानकारी दिइन् ।

धरान उपमहानगरपालिका भित्र यसरी प्रकोपको उच्च जोखिममा धेरै बस्ती र घरहरू रहेका छन् । यति बेला धरानको सर्दु र सेउती खोला सँगै धरानका विभिन्न खहरे खोलाको किनारामा बसोबास गर्नेहरूको घर बर्षायाममा बाढी पहिरो र कटानको उच्च जोखिममा पर्ने गरेका छन् ।

यसो हुनुको मुख्य कारण धरानमा बसोबासलाई व्यवस्थित नहुनुले भएको हो । त्यसैले धरानका विभिन्न ठाउँमा बसोबास गर्ने सुकुम्वासीहरूको बसोबासलाई व्यवस्थित बनाउनुपर्छ । यदि यसो भयो भने मात्रै सुकुम्वासीलाई घर नम्बर वितरण गर्नुको औचित्य पुरा हुन्छ । यदि होइन भने दिनानुदिन सागुरिदै गएको विजयपुरको बाबा धाम मार्गमा घटेको घटनाहरू फेरी पनि नदोहरिएला भन्न सकिन्न ।

Prakop