धरान : धरानमा आज साँझ इलाका प्रहरी कार्यालय धरानका १ जना थुनुवा सहित लागु औषध उपचार केन्द्र आसरा सुधार केन्द्रका १ जना गरी ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार धरान ११ की इलाका प्रहरी कार्यालय धरानका १ जना २८ बर्षीया महिला थुनुवा, धरान ६ मा सञ्चालित आसरा सुधार केन्द्रमा लागु औषध उपचारका लागि पुगेका एक जना धरान १० का २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनलाई सुधार केन्द्रको छुट्टै क्वारेनटाइनमा राखिएको बताइएको छ ।

यसै गरी धरान ८ बरगामीकी ३७ बर्षीया महिला, धरान १७ का ७३ वर्षीय पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको लन्ड्रीका हेल्पर ५३ वर्षीय पुरुष र अर्को लन्ड्रीकै हेल्पर ३५ बर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान ८ की महिलाको धरान १७ स्थित एन्फा क्वारेनटाइनमा शुक्रवार स्वाब लिइएको थियो भने अरू सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिइएको स्वास्थ्य प्रमुख मेहेताले बताए ।
यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ३१ पुगेको छ ।

आज  भोजपुरबाट ३ दिन अघि धरान आइपुगेका र इलाका प्रहरी कार्यालय धरानकी थुनुवा महिला सङ्क्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा भर्ना गरिएको स्वास्थ्य प्रमुख मेहेताले बताए ।