धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई कोरोना सङ्क्रमण भएको छ ।

उपकुलपति गिरीले नियमित कोरोना परीक्षण गराउँदै आएका थिए । सोही क्रममा आज साँझ उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उपकुलपतिले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक गर्दै सम्पूर्ण सुरक्षा उपायहरू अपनाउँदा अपनाउँदै र दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दा  आज (साेमबार) कोरोना सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

उनी प्रतिष्ठानको काममा दैनिक व्यस्त रहँदा रहँदै आफू कोरोनाको सङ्क्रमणमा परेको उल्लेख गरेका छन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराएर सजगता अपनाउनु पनि अनुरोध गरेका छन् । उपकुलपतिको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमै बस्ने बताइएको छ ।