धरान : बाल दिवसको अवसरमा सरस्वती बाल क्लबले आयोजना गरेको बाल कार्यक्रम सम्पन्न भएको छ । बाल क्लबले हाजिरीजवाफ र आन्तरिक खेलकूद कार्यक्रमको आयोजना गरेको थियो ।

धरान-३ स्थित श्री सरस्वती बाल आश्रमले प्रत्येक साल बाल दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने गरेको थियो । यस वर्ष कोभिड-१९ का कारण सप्ताहव्यापी रुपमा बाल दिवस मनाउन नपाएकोमा आश्रमकी बालिका हेमा तामाङले पुरस्कार वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा खिन्नता प्रकट गरिन् ।

बालबालिकालाई आश्रमभित्रै मनोरञ्जन र क्षमता अभिवृद्धिकालागि सरकारले घोषणा गरेको लकडाउनको समय सदुपयोग गरी स्वास्थ्य मापदण्डको पालना गर्दै आश्रमले सिलाइ कटाइ, पाकशिक्षा, आन्तरिक खेलकूद, जीवन जिउने कलालगायत, स्वास्थ्य सचेतना कार्यक्रमहरु गराइरहेको आश्रमका अध्यक्ष दानबहादुर राईले बताए ।

कार्यक्रम बोल्दै राईले बालबालिकालाई कोभिडको कारण बाहिर निस्कने परिस्थिति नरहेकाले आश्रमभित्र आन्तरिक रुपमा खेलकुद, मनोरन्जन इत्यादि गर्नका लागि आग्रह गरेका थिए ।

हाजिरीजवाफमा विजेता समूहलाई समापन कार्यक्रममा पुरस्कृत गरिएको थियो । विजय तामाङको समूह प्रथम, पूजा श्रेष्ठको समूह दोस्रो र विशाल राईको समूह तेस्रो भएका थिए । आश्रमका बालकहरुले स्वयम् हाजिरीजवाफको सम्पूर्ण तयारी गरी हाजिरीजवाफको भव्यताका साथ सम्पन्न गरेका थिए ।

यसैगरी आश्रमकी कार्यसमिति सदस्य एलिना मगरले आन्तरिक रुपमा बालबालिकालाई रमाइलो खेलहरु गराएकी थिइन् । जसमा क्याराम गोटीको टावर बनाउने, फ्रुटी पिउने प्रतिष्पर्धा, एक मिनेटमा चित्र बनाउने, म्युजिकल चियर, दिमाख खियाउनेलगायतका खेलहरु गराएकी थिइन् । आन्तरिक खेलकूदमा पनि बालबालिकाको मनोबल बढाउने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको आश्रमका कार्यालय सचिव पूर्णप्रसाद फुयालले बताए ।

उनका अनुसार विभिन्न खेलमा विजय प्राप्त गरेको विजय तामाङलगायत ११ जना बालक र पूजा श्रेष्ठलगायत ३ जना बालिका पुरस्कृत भएका थिए । समापन कार्यक्रमको सञ्चालन बाल क्लबकी अध्यक्ष पूजा श्रेष्ठले गरेकी थिइन् ।