धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा बलभद्रप्रसाद दासले पौन ८ करोड अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मङ्गलवार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार दासले ७ करोड ७१ लख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको गैर कानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।

प्रतिष्ठानको विभिन्न पदमा हुँदा उनले भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएको उजुरी परेपछि छानबिन गर्दा त्यति रकम अकूत सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । डा.दासलाई यो अख्तियारले विशेष अदालतमा दोस्रो पटक मुद्दा दायर गरेको हो । यसअघि पनि उनीसहित अन्य पुर्वपदाधिकारीहरुलाई विभिन्न सामग्री खरिदमा प्रतिष्ठानलाई नोक्सानी हुने गरी मिलेमतो गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत रहँदा उनले १५ करोड ३२ लाख कमाएका छन् । जसमा ७ करोड ७१ लाख गैर कानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । २०५० असार २७ मा जुनियर रजिस्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०६८ पुस १७ मा डा. दास उपकुलपति भएका थिए ।
२०७६ असार ३० सम्मा प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेको थिए । उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

डा. दासले कमाएको अवैध सम्पत्ति उनको श्रीमतीको नाममा स्रोत नखुलेको सम्पत्ति विवरणमा राखेकोले दुवैको नाममा रहेको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ ।

अख्तियारद्वारा जारी प्रेस विज्ञप्ति :

वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा. बलभद्र प्रसाद दास उपर बिगो रु. ७,७१,९२,८६०।२४ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति : मिति २०७७।०५।३० गते ।
-------------------------------------------------

वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा. बलभद्र प्रसाद दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज डा. बलभद्र प्रसाद दासले मिति २०५०।०३।२७ मा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०६८।०९।१७ मा उपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेकोमा निजको सेवा प्रवेशको मिति २०५०।०३।२७ देखि २०७६।०३।३० सम्मको अवधिसम्म निजले रु. ७,७१,९२,८६०।२४ सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिन्छ ।

तत्कालीन डा. बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६।०३।३० सम्मको वैध आय रू. ७,६०,१०,४८९।८० आर्जन गरेको र सोही अवधिमा निजले रू. १५,३२,०३,३५०।०४ खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू. ७,७१,९२,८६०।२४ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएकोले आरोपी डा. बलभद्र प्रसाद दासको सो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको देखिंदा निज बलभद्र प्रसाद दासलाई बिगो रू. ७,७१,९२,८६०।२४ (अक्षेरूपी सात करोड एकहत्तर लाख बयानब्बे हजार आठ सय साठ्ठी रूपैया र चौबीस पैसा मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज डा. बलभद्र प्रसाद दासको चलअचल सम्पत्तिबाट जफत हुन एवं निज बलभद्र प्रसाद दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती पुनम दासको नाममा राखेको हुँदा स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग., दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम निज पुनम दासबाट जफत गर्ने प्रयोजनको लागि मात्र निज पुनम दासलाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्ति उल्लिखित कानून अनुसार जफतको मागदाबीसमेत लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
तारानाथ अधिकारी