धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत सप्तरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले कोरोना सङ्क्रमण भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।

बिरामीमा मिर्गौलाको समस्या रहेको, हप्तामा २ पटक डाइलसिस गर्दै आएको र उच्च रक्तचाप पनि रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान ६ः१० मा बिरामीको उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी जिल्लामा यो सँगै मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९० पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।