सुनसरी : सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका-८ की १० बर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा आज बिहान साँढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।