आज देखि अधिकमास सुरुभएको छ । अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ। अधिकमासमा भगवान नारायणको पूजा एवम् पुरुषोत्तम माहात्म्य वा कथा सुन्ने परम्परा रहेको छ ।

यस मासमा श्रद्धा भक्तिपुर्वक भगवान पुरूषोत्तमको उपासना आराधना गरे सम्पुर्ण पाप मकैका दाना सरि भुटीने धार्मिक मान्यता रहेको छ । अधिक मासमा सम्पूर्ण शुभ कार्य तथा शुभ साईतहरू गर्न वर्जित गरिएको छ । तर नित्य पुजा पाठ गर्नलाई कुनै नियमहरूको वर्जित गरेको छैन। यहि आधिकमास परेका करणले सोह्रश्राद्ध सकिने सकिने वित्तिकै आउने दशैं यस वर्ष एक महिना पर कार्तिक महिनामा धकेलिएको हो।

वस्तुतः सूर्यको गति अनुसार गणना गरिने मासलाई सौर्य मास र चन्द्रमाको गति अनुसार गणना गरिने मासलाई चन्द्रमास भनिन्छ। सामान्य रूपमा तिथिहरू चन्द्रमास र गतेहरु सौर्यमास भनेर बुझ्न सकिन्छ । सौर्यमास : संक्रान्ति देखि मसान्तसम्म , २९ दिनदेखि ३२ दिनसम्म एक महिना हुन्छ भने चन्द्रमास : एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको हुन्छ । यसै प्रक्रिया अनुसार गणित गर्दै जांदा सौर्यमासको एक वर्षमा जम्मा ३६५ दिन हुछ भने, चन्द्रमासको ३५४ दिन मात्र हुन्छ । यसै क्रमले हरेक वर्षको ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा ३३ दिनले सौर्यमास र चन्द्रमासमा फरक पर्दछ। स्पस्ट रूपमा अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटपछि आउँछ । यसै सौर्यमास र चन्द्रमास तीन वर्षमा मिलाप हुने हुँदा यस अवधिलाई अधिकमास भनिएको हो ।

श्रीमद्भागवत महापुराणका अनुसार हिरण्यकशिपुको भाई हिरण्याक्षलाई भगवान विष्णुले मारे पछि बदला लिनका लागि हिरण्यकशिपुले ब्रह्माजीको घोर तपस्या गर्यो र ब्रह्माजी प्रसन्न भए पछि उसले अमर हुने बरदान माग्यो तर यस संसारमा जन्मिए पछि मर्नै पर्छ । मृत्यु यस संसारकोअन्तिम सत्य हो। त्यसैले ब्रह्माजीले अमर हुने बरधान दिनु भएन र उसले मनुष्यको हात नमर्ने र अन्य धेरै वरदानका साथै सालको बाह्र वटा महिना मध्ये कुनैमा पनि आफ्नो मृत्यु नहुने वरदान प्राप्त गर्यो।

वरदान प्राप्त गरेपछि उसमा म कहिल्यै मर्दिन भन्ने घमण्ड आयो र उसको अत्याचार अधर्मले सीमा नाघ्न थाल्यो र आफूलाई भगवान सम्झिन थाल्यो। त्यसैकारण उसको वध गर्न स्वयम भगवान् विष्णुले नै अवतरित हुनुपर्यो। टाउको सिंहको र शरीर मनुष्यको भएको भगवान् विष्णुको नरसिंह अवतार भयो तर उसले सालको १२ महिनामा नै आफ्नो मृत्यु नहोस् भनेको हुनाले त्यही हिरण्यकशिपुलाई मार्न नै भगवान् विष्णुले तेह्रौँ महिना अर्थात् पुरूषोत्तम महिना सृष्टि गरी हिरण्यकशिपुको वध गर्नु भएको पुराणमा उल्लेख छ ।
माता रामो मत्पिता रामचन्द्रः
स्वामी रामो मत्सखा रामचन्द्रः ।
सर्वस्वं मे रामचन्द्रो दयलुर्नान्यं
जाने नैव जाने न जाने ॥

हाम्रो माता पिता स्वामी तथा हाम्रो प्रिय सखा एवम् हाम्रो सर्वस्व दयालु पुरूषोत्तम रामचन्द्र नै हुनुहुनुहुन्छ । त्यसैले यस पुरूषोत्तम मासमा जानि नजानि भए पनि उनै परब्रह्म परमात्मा श्रीरामको स्मरण गरौँ ।