धरान : सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ६७ पुगेको छ ।

सुनसरी जिल्लाका १२ पालिका मध्ये सबै भन्दा धेरै कोरोना सङ्क्रमित धरान उपमहानगरपालिकामा भेटिएका छन् । अहिले सम्म धरान उपमहानगरपालिकामा स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ३ सय ९१ जनामा कोरोना सङ्क्रमण भएको तथ्याङ्क रहेको छ । यसै गरी दोस्रोमा इटहरी उपमहानगरपालिका रहेको छ ।इटहरी उपमहानगरपालिकामा अहिले सम्म ३ सय ६२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसै गरी दुहबी नगरपालिकामा १ सय ९६ जना, इनरुवा नगरपालिकामा १ सय ३५ जना, कोशी गाउँपालिकामा ५२ जना, रामधुनी नगरपालिकामा ५० जना, बर्जू गाउँपालिकामा ३९ जना, हरीनगर गाउँपालिकामा ३४ जना, गढी गाउँपालिकामा ३५ जना, भोक्राहा नर्सिङ गाउँपालिकामा ३० जना, देवानगन्ज गाउँपालिकामा २३ जना, बराहाक्षेत्र नगरपालिकामा २० जना गरी जम्मा १ हजार ३ सय ६७ जनामा कोरोना सङ्क्रमण भएको छ । 

सुनसरीमा अहिले सम्म सुनसरीमा २६,५२६ जनाको पिसिआर परीक्षण गर्दा १३६७ वटा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका सङ्क्रमित कुन कुन आइसोलेसनमा बसेका छन् ?
सुनसरीका कोरोना सङ्क्रमितहरूलाई सुनसरीका विभिन्न स्थानका क्वारेनटाइन र मोरङको याङसिला र गोठगाउमा राखिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

जस मध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३१ जना, कोशी गाउँपालिकामा १ जना, मोरङको गोठगाउँमा १३ जना, हरीनगर गाउँपालिकामा ३९ जना, चतरामा १० जना, मोरङको याङसिलामा ६५ जना, अरु विभिन्न क्वारेनटाइनमा ६१ जना र होम आइसोलेसनमा ३७८ जनालाई राखिएको छ ।

यसै गरी अहिले सम्म सुनसरी जिल्लामा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७ जना र रामधुनी नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।