धरान : देशैभर संविधान दिवस विविध कार्यक्रम गरी हर्षोल्लास पूर्वक मनाइँदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टीले भने नेपालको संविधान  २०७२ लाई पुनर्लेखन नै गर्नुपर्ने माग गर्दै दबाब तथा खबरदारीमूलक साक्षात्कार कार्यक्रम गरेको छ ।

आज धरानमा राष्ट्रिय जनमुक्ति पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष के पी पालुङवाले यो संविधान अधुरो अपुरो रहेकोले पुनर्लेखन नै गर्नुपर्ने बताए । आफ्नो माग वर्तमान संविधानको खारेजी भने नभएको तर संवैधानिक प्रक्रिया अन्तर्गतको संविधान संशोधन आफूहरूलाई मान्य नहुने र संविधानका आधारभूत कुराहरू पुनर्लेखन नै गरिनुपर्ने अध्यक्ष पालुङवाको भनाई थियो ।

 यसै गरी वर्तमान सङ्घीय व्यवस्था अपूर्ण रहेको पनि उनले बताए । राष्ट्रिय जनमुक्ति पार्टीले विशेष स्वायत्तता सहितको १२ जोड १ को मोडलमा नेपालमा सङ्घीयता लागु हुनुपर्ने आवाज उठाउँदै आएको उनको भनाई थियो । वर्तमान संविधानलाई पुनर्लेखन गर्नुपर्ने पक्षमा आवाज उठाइरहेका राजनीतिक शक्तिहरूलाई सहकार्यका लागि अध्यक्ष पालुङवाले आव्हान समेत गरे । कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति सुनसरीको आयोजनामा सम्पन्न भएको हो ।