धरान : संविधान दिवसको अवसरमा सुनसरीको झुम्का कारागारका १६ जना सहित प्रदेश नं. १ का ६८ जनाले माफी मिनाहा पाएका छन् ।

सुनसरीको झुम्का कारागारबाट २० जनालाई सिफारिस गरिएका मध्ये १६ जनाले माफिमिनाहा पाएको कारागारका जेलर अनिल खनालले जानकारी दिए । उनका अनुसार कारागारमा हाल १७ सय २२ जना पुरुष कैदी रहेका छन् । २०६६ सालमा स्थापना भएको यस कारागारमा हाल पुरुष मात्र रहेका छन् ।

माफी मिनाहा पाउनेमा सवारी ज्यान सम्बन्धी मुद्दामा नजरामुद्दी मिया, इमान,हास्मी भन्ने इमान अहमरहास्मी ,भुवन प्रसाद चौधरी ,अमित चौधरी,पूर्ण बहादुर तामाङ र सवारी अङ्ग भङ्ग मुद्दामा राकेश कुमार अधिकारी रहेका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा मिलन राई, निर बहादुर मगर र मुक्तफी अन्सारी रहेका छन् । कर्तव्य ज्यान मुद्दामा रेसम शाही र हस्त बहादुर कार्की रहेका छन् । राजु राई भन्ने राम कुमार राई गर्भपतन मुद्दामा र मुचुगा मिया नकबजनी चोरी मुद्दामा माफी मिनाहा पाएका हुन ।

यसै गरी ठगी मुद्दामा मुकुन्द न्यौपाने,चोरीको मुद्दामा इबो उराव र खुन डाका मुद्दामा प्रकाश भन्ने आकाश तामाङ माफी मिनाहा पाएका हुन ।

कारागारमा कैद भुक्तान गरिरहँदा उनीहरूले अनुशासन र चालचलनको आधारमा दसैँ, तिहार , संविधान दिवस , र गणतन्त्र दिवसको अवसरमा कारागारबाट माफी मिनाहाका लागि सिफारिस गरिन्छ । नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले राष्ट्रपतिबाट ५० प्रतिशत छुट दिएर माफी मिनाहा गरिन्छ ।

५० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी ५० प्रतिशत कैद कट्टा गरेर आज संविधान दिवसको अवसरमा नेपालमा २ सय ८९ जनालाई माफी मिनाहा गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक डिआइजी द्रोण पोखरेलले जानकारी दिए ।

नेपालको संविधानको धारा २०७६, फौजदारी कसुर सजाय तथा कार्यान्वयन २०७४ को दफा ३७ मा कैद कट्टा नियमावली र कारागार नियममा पनि ५० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी ५० प्रतिशत कैद कट्टा गरेर माफी मिनाहा गर्ने व्यवस्था रहेको तर जबरजस्ती करणी , लागु औषध र जन्मकैदमा भने कैद छुट नहुने पोखरेलले बताए ।

प्रदेश नं १ मा ६८ जना जसमध्ये झुम्कामा १६ माफी मिनाहा भएका थिए । झापामा पनि १३ जना माफी मिनाहा भएका हुन् ।