धरान : धरान-११ की सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरण झन-झन रहस्यमय बन्दै गएको र अनुसन्धान फितलो भएको माइती पक्षले आराेप लगाएका छन् ।

पत्रकार महासङ्घको सभा हलमा आइतबार पत्रकार सम्मेलन गर्दै माइती पक्षले सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा अनुसन्धानलाई असर पुग्ने गरी चलखेल भइरहेको बताइएका छन् ।

सुनिहाङमाको आमाजू सन्जु माबो प्रहरी नियन्त्रणमा रहेकाे अवस्थामा कोरोना सङ्क्रमण भएको र कोरोना सङ्क्रमित भए पनि अनुसन्धानकालागि प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिलाई होम आइसोलेसनमा बस्न दिनुले घटनाको प्रमाणहरू नष्ट गर्न तर्फ लागेकाे आशंका गर्न सकिने पक्षकाे आराेप छ  । कोरोना सङ्क्रमण भए पनि सरकारी आइसोलेसनमा स्वास्थ्यकर्मी र प्रहरीको निगरानीमा राखिनु पर्नेमा घरमा होम आइसोलेसनमा राखिनुमा आशंका भएकाे भन्दै मृतक सुनिहाङ्माका माइती पक्षले आपत्ति जनाएका हुन् ।

धरान-११ को सितलपथ निवासी सिंगापुरे लाहुरे युवि भनिने आइत माबोसंग विवाह गरी धरान आएकी २५ बर्षीया सुनिहाङ्माको विवाह गरेकाे ३ महिना नपुग्दै भदौ २२ गते कोठामा मृत अवस्थामा शव फेला पारिएको थियो ।

उनको मृत्यु कोठामा ढोका लगाई सिलिङ पङ्खामा डोरीले झुन्डिएको भनिएको भए पनि माइती पक्षलाई बिहान ८ बजे भएको घटनाको दिउसो साढे १ बजे तिर मात्रै खबर गरिएको थियो । माइती पक्ष आइपुग्दा झुन्डिएको अवस्थामा नभएर सुताइएको अवस्थामा फेला परेकोले सुनिहाङ्माको आत्महत्या नभई हत्या भएको भन्दै माइती पक्षले केटा पक्षलाई किटानी जाहेरी दिएका थिए ।

त्यही जाहेरी अनुसार भदौ २४ गते केटा पक्षका ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा केटाका बुवा ६१ वर्षीय भीम माबो, मृतककी आमाजू २८ वर्षीय सन्जु माबो, २५ वर्षीय विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरेको थियो । म्याद सकिएको भन्दै प्रहरीले पुनः ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको बेला जसलाई आशङ्का गरिएको मुख्य मान्छेलाई नै कोरोना सङ्क्रमण भएपछि अहिले घरमै होम आइसोलेसनमा बस्न दिनुले घटनाको अनुसन्धानमा थप आशङ्का उब्जिएको सुनिहाङ्गमा लिम्बुको न्यायकालागि अभियान समितिका संयोजक मोहन प्रसाद तिगेलाले बताए ।

अनुसन्धानमा साथ दिनका लागि मृतक सुनिहाङ्गमा लिम्बुको न्यायका लागि ५०१ सदस्यीय अभियान समिति गठन भएको पत्रकार सम्मेलन मार्फत आज जानकारी दिइएको छ । यो समितिले प्रहरीमा किटान गरेर जाहेरी दिइएको व्यक्ति सुनिहाङ्मा लिम्बुको श्रीमान् युवि भनिने आइत माबोलाई सिंगापुरबाट नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन पनि माग गरेको छ । समितिले गोर्खा वेलफेयरलाई समेत प्रहरीमा दिइएको जाहेरी सहित निवेदन दिएको छ ।

पत्रकार सम्मेलनमा छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । सुनिहाङ्माको मृत्यु प्रकरणमा पछिल्लो समय निकै चलखेल सुरु भएको भन्ने आफूलाई जानकारी आएको भन्दै अध्यक्ष तिगेलाले भने “सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा जोडिएका संलग्नहरु कानुनी कारबाहीबाट उम्किनु हुँदैन" ।

कारबाहीको दायरामा ल्याउनकालागि बनेको सुनिहाङ्गमा लिम्बुको न्यायका लागि अभियान समितिले यहाँका सामाजिक सङ्घसंस्था, राजनीतिक दल, मानव अधिकारवादी सङ्घसंस्थाहरू र सम्बन्धित निकायको ध्यान केन्द्रित गर्ने पनि उनले बताए ।

"घटना अत्यन्तै रहस्यमय छ । केटा र केटी राजीखुशीले विवाह गरे । तर परिवारले त उनीहरूको दाम्पत्य जीवनमा पो झन् मलजल गरेर अझ सुधार गर्नुपर्ने हो । तर केटाकै दिदी सन्जु माबोले पटक पटक मानसिक यातना दिएको र परिवारलाई सुनिहाङ्माको विरुद्धमा उचाल्ने काम गरेको सुनिहाङ्माकै सार्वजनिक भएका भ्वाईस क्लिपहरूले प्रस्ट पार्छ"  मृतकका काका अरुण तिगेलाले भने । उनले न्यायको लागि जस्तो सुकै मूल्य चुकाउन कसर बाँकी  नराख्ने बताए ।''

घटनाको विषयमा प्रहरी के भन्छ ?

सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा सुनसरीका प्रहरी प्रमुख कमल थापाले महामारीमा “पहिले सुन अनि त्यसपछि थुन” विधि प्रयाेग गरीएकाे र सरकारी वकिल तथा अस्पतालको सिफारिसमा प्रहरी हिरासतमा रहेकी सन्जु माबोलाई होम आइसोलेसनमा पठाएको बताए।

सन्जु माबोको हकमा कोरोना मुक्त भएपछि फेरी अनुसन्धान हुने उनले जानकारी दिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शवको पोस्टमार्टम रिपोर्ट आउन ढिलाइ भएको र भिसेरा परीक्षण गर्न बाँकी रहेकाे उनले बताए । यता मृतकका माइती पक्षले पोष्टमार्टम रिपोर्ट ढिलो हुनुमा पनि आशङ्का गरेका छन् ।

Sunihangma

Sunihangma-Chat
सुनिहाङ्माले मामासंग फेसबुकमा  गरेकाे यस्तो च्याटकाे अंश