इटहरी : कोरोनाको बहानामा श्रमजीवी पत्रकारलाई दु:ख दिने र तलब नदिई काम बाट निकाल्न थालेपछि नागरिक दैनिकका पत्रकारहरूले ७ दिने सत्याग्रह सुरु गरेका छन् ।

विभिन्न ५ बुँदे माग राखी नागरिक दैनिकको कार्यालय परिसरमा सोमबार देखी सत्याग्रहको सुरुवात भएको हो । कोरोनाको बहाना बनाएर पत्रकारलाई तलब नै नदिई काम बाट निकाल्ने र लामो समय बेतलबी काममा लगाउने गरेकोले त्यसको विरुद्धमा पहिलो चरणको आन्दोलन स्वरूप सत्याग्रह गरिएको हो ।

उनीहरूले सरकारले तोकेको पारिश्रमिक देऊँ, पुरानो बाँकी बक्यौता चुक्ता गरी मासिक पारिश्रमिक देऊ, श्रमजीवी पत्रकार ऐन पुर्णरुपमा कार्यान्वयन गर, कोरोनाको बहानामा श्रमजीवीलाई दुख नदेऊ, ६ महिना परीक्षण काल पुरा गरेका लाई स्थायी नियुक्त पत्र देऊ लगायत माग राखेका छन् ।

नेपालमा लकडाउन सुरु भएको केही समयमा नै नागरिक दैनिकले बहाना बाजी गरेर पत्रकारलाई दुस्ख दिन थालेको पत्रकार सुविद गुरागाईले बताए । यस बिचमा आफू लगायत दुई दर्जन बढी पत्रकारहरू अकारण निष्कासित हुनुपरेको भन्दै सत्याग्रह सुरु गरिएको उनको भनाइ छ ।

निष्कासित भएका पत्रकारहरूले हाल सम्म पनि तलब नपाएको भन्दै भद्र आन्दोलनको सुरुवात गरेको उनी बताउँछन् । धेरै जना पत्रकारलाई तलब रोकेर राजीनामा गर्न बाध्य बनाएको छ ।, उनले भने, बिना कारण र बिना तलब निष्कासित हुनु अत्यन्तै दुखद हो ।

नागरिक दैनिकमा जस्तै अन्य मिडियामा पनि बिना कारण पत्रकार निष्कासित गर्ने र लामो समय सम्म तलब नदिने गरेको पाइएको छ ।