धरान : सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै मङ्गलवार साँझ धरानको भानुचौकमा दीप प्रज्वलन गरिएको छ ।

भदौ २४ गते सुनिहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको भए पनि अहिले सम्म मृत्यु प्रकरणको बारेमा पिडकलाई कारबाही हुन नसकेको र सिंगापुरे लाहुरे मृतकका पतिलाई झिकाएर अनुसन्धानको दायरामा ल्याउन नसकेको भन्दै स्व. सुनिहाङ्मा लिम्बुको न्यायका लागि अभियान समितिका संयोजक मोहन प्रसाद तिगेलाले अनुसन्धानमै शङ्का उत्पन्न भएको बताए ।

यसै गरी छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले सुनिहाङ्मा लिम्बुको भदौ २२ गते भएको मृत्युको घटना शङ्कास्पद भएकोले सुनिहाङ्माको न्यायको लागि सबैले साथ दिनुपर्ने बताए । धरान-११ सितल पथ निवासी सिंगापुरे लाहुरे युवि भनिने आइत माबोसंग विवाह गरेकी २५ वर्षीय सुनिहाङ्मा लिम्बु मृत अवस्थामा फेला परेकी थिइन् ।

उनी झुन्डिएर आत्महत्या गरेको भनेर ढिलो गरी माइतीलाई खबर गरेको र माइती आउँदा झुन्डिएको अवस्थामा नभई बेडमा सुताइएको अवस्थामा फेला पारिएकोले मृत्यु रहस्यमय भएको भन्दै माइती पक्ष न्याय माग्दै सङ्घर्षमा उत्रिएको हो । मृतक सुनिहाङ्माको श्रीमान् आइत माबोको नाममा पनि किटानी जाहेरी दिइएको भए पनि प्रहरीले अहिले सम्म अनुसन्धानको लागि सिंगापुरबाट नेपाल नझिकाएको भन्दै उनलाई तुरुन्त नेपाल झिकाएर अनुसन्धान थाल्न पनि माग गरिएको छ ।

सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा व्यापक आशङ्काहरू उब्जिएकोले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउँदै मुलुकी अपराध संहिता २०७४ को दफा २ को उपदफा ३ बमोजिम मृतकको श्रीमानलाई नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन समितिले माग गर्दै धरान उपमहानगरपालिका, धरानका विभिन्न राजनीतिक दल र सामाजिक सङ्घसंस्था र अधिकारकर्मीहरूलाई ज्ञापन पत्र पनि बुझाई सकेको छ ।

विवाह गरेको ३ महिना नबित्दै रहस्यमय ढङ्गले सुनिहाङ्माको निधनले उचित न्याय पाउन नसकेमा थप सङ्घर्षका कार्यक्रमहरू घोषणा हुने पनि समितिले जनाएको छ । त्यसैले सुनिहाङ्माको मृत्युको घटनामा चलखेल नगर्न पनि समितिले खबरदारी गरेको छ ।

सिंगापुरमा रहेका मृतकका श्रीमान् आइत माबोलाई तुरुन्त नेपाल झिकाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै मङ्गलवार साँझ धरानको भानुचौकमा न्याय माग गरिएका विभिन्न प्लेकार्ड सहित दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा सयौँको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा मृतक सुनिहाङ्माको न्यायका लागि सघाउ पुर्‍याई दिन स्थानीय सरकार, राजनीतिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मीहरू, सञ्चारकर्मीहरू, अधिकारकर्मीहरू, महिला अधिकारकर्मीहरू, सामाजिक अभियान्ताहरु, सङ्घसंस्था, उद्योगी, व्यापारीहरु, थरगत थुमगत सङ्घ संस्थाहरूलाई आव्हान पनि गरिएको छ । मृतकका श्रीमानलाई अनुसन्धानको दायरामा नल्याए थप सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्ने समितिले बताएको छ ।

Sunihangma-1 Sunihangma-3Sunihangma-4 Sunihangma-7 Sunihangma-6 Sunihangma-8 Sunihangma-9