धरान : धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजना स्थलमा बसपार्क निर्माणको काम अनिश्चित भएको छ ।

भदौ अन्तिममा धरान उपमहानगरपालिकाले जग्गा धनीहरूलाई आयोजना स्थलमा लगाएको बाली हटाउने बारे ७ दिने सूचना जारी गरेको थियो ।

सो क्षेत्रमा बसपार्क तथा सडक लगायतका पूर्वाधारहरू निर्माण गर्ने सम्बन्धमा आयोजना स्थलका सडकहरू निर्माण गर्नको लागि ड्रोईङ्ग, डिजाइन, स्टमेट सहित डिपिआर तयार गर्न सडक, ब्लक र जग्गाधनीहरूको जग्गा सिमाङ्कन गर्ने कार्य गर्नुपर्ने जनाउँदै सो सूचना जारी गरिएको हो ।

तर धरान उपमहानगरपालिकाको योजना महाशाखाका इन्जिनियरलाई कोरोना सङ्क्रमण भएपछि कहिले देखि काम सुरु हुने हो अनिश्चित भएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत तथा सो आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले बताए ।

१३ बिघा क्षेत्रफल रहेको सो स्थानमा अहिले बाली लगाइएको छ । यही असोज पहिलो हप्ताबाट स्थलगत रूपमा बस पार्कको डिपिआर सुरु गरी कार्य प्रारम्भ गर्ने भनिएको थियो ।

आयोजना स्थलमा लगाइएको बालीनाली तथा बोटविरुवाहरुले जग्गा नाप जाँच र सिमाङ्कन गर्न नमिल्ने भएको हुँदा सूचना प्रकाशन गरिएको मितिले ७ दिनभित्र आफै खाली गर्न सूचनामा सूचित गरिएको थियो ।

Bus-Park-Suchana