धरान : निरन्तरको झरीका कारण धरान २० आपटारका पहिरो पीडितलाई झन् समस्या भएको छ ।

आपटारमा गएको शनिवार पहिरोले घर भासिदा र ७ घर परिवार विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको भए पनि निरन्तरको झरीको कारण समस्या हुन थालेको पहिरो पीडित सत्यकुमार राईले बताए ।

पहिरोबाट सत्यकुमार राई, बस्तीलाल राई, सवलमान राई, वीर कुमार राई, रामकुमार राई नन्दलाल यादव र रामकुमार राईको परिवार विस्थापित भएको स्थानीय प्रेमकुमार राईले बताए । पहिरो पीडितका अनुसार भदौ १५ गतेदेखि निरन्तर पहिरो खस्न थालेको थियो । वर्षा पनि निरन्तर भएपछि अहिले ७ घर परिवार शनिवार देखि पुर्णरुपमा विस्थापित भएका छन् ।

बस्ती भएको ठाउँमा जमिनमा धाजा फाटेर घरमा बस्नै नसकिने भएपछि अहिले पहिरो पीडितहरूलाई आपटारको नजिकै सुरक्षित स्थानमा टेन्ट टाँगेर राखिएको छ । टेन्टमा पानी निरन्तर पर्दा बस्न नै समस्या भएको पहिरो पीडितहरूले बताए ।

नेपाली सेना र रेडक्रसले बस्नका लागि टेन्ट लगाई दिएको र खानेपानी, बिजुली लगायत जोडिएकोले खानेपानी र बिजुली बत्तीको समस्या नभए पनि निरन्तरको झरीले भने समस्या निम्त्याएको छ ।

२० नम्बर वडा कार्यालयले राहत दिएको भए पनि काहा घर भए जस्तो त टेन्टमा हुन्छ रु भन्दै सत्यकुमार राईले भने राज्यले हाम्रो समस्याको बेलैमा सम्बोधन गरिदिओस ।

पहिरोले सत्यकुमार राईको १४ कठ्ठा, सवलमान राईको २ कठ्ठा, वीर कुमार राईको ३ कठ्ठा र अरू बस्ती बसेको ऐलानी जग्गामा बस्नै नहुने गरी धाजा फाटेकोले अहिले आपटारका र ७ परिवारका ३४ जना बिचल्लीमा परेका हुन् ।

निरन्तर झरी पर्ने हो भने दबिएको र धाजा फाटेको जग्गा झन् बग्ने र धाजा फाट्न सक्ने र अझ कमेरो माटो भएकोले घाम लाग्दा जमिने दबिने स्थानीय प्रेमकुमार राईले बताए । अहिले माथि र तलबाट पहिरो झर्न रोकिएको भए पनि यो झरीले गर्दा अव अझ बग्ने सम्भावना बढेर गएको उनी बताउँछन् ।