धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफू आइसोलेसनमै रहेर पनि खरिद शाखाका प्रमुख विष्णु चापागाईको सरुवा गरेका छन् ।

प्रतिष्ठानमा डेढ-दुई वर्षमा सरुवा हुनु स्वाभाविक हो, तर ३ महिना १९ दिनमा हिजो आफूलाई सरुवाको पत्र आएको प्रमुख चापागाईले बताए । उनी भन्छन्, यत चाडै सरुवा हुनु अस्वाभाविक हो तर म्यानेजमेन्टको निर्णय मान्नै पर्‍यो ।

उनको सरुवामा अन्य सरोकारवाला पदाधिकारीसँग पनि कुनै छलफल वा परामर्श गरिएको छैन । खरिद शाखा प्रमुखबाट चापागाईँलाई शैक्षिक प्रशासन शाखामा पठाइएको छ ।

सामान्यतः वीपीमा कर्मचारीहरूको सरुवा दुई वर्षमा रजिस्टारको सिफारिसमा हुने प्रावधान छ । तर, खरिद शाखा प्रमुख चापागाईँले धरानका व्यापारी चेतन अग्रवाल र उनको सेटिङ अनुसार काम गर्न नमानेपछि उपकुलपति कार्यालयमार्फत सरुवा गरिएको भनिएको छ ।

अहिले खरिद शाखा प्रमुखमा आफूलाई अनुकूल हुने गरी सामान्य प्रशासनबाट अशोक साहलाई लगिएको छ । चापागाईले उपकुलपतिको योजनाको सेटिङमा साथ नदिएकोले रजिस्टार, अस्पताल निर्देशक कसैसँग परामर्श नगरी उपकुलपति गिरीको सल्लाहकार तथा स्वकीय सचिव दिलीप भट्टराई र उनको टिमले सरुवा गरेको दाबी गरिएको छ ।

प्रतिष्ठानका रजिस्टार र अस्पताल निर्देशक लगायत सरोकारवाला पदाधिकारीहरुलाईनै जानकारी नदिई गरिएको सरुवा पत्रमा उपकुलपति गिरीको हस्ताक्षर रहेको छ ।

यस कारण पनि खरिद शाखाका प्रमुख विष्णु चापागाईँको सरुवामा निकै ठुलो रहस्य लुकेको प्रतिष्ठान स्रोतको दाबी छ । अस्पतालको नियम र प्रक्रिया मिचेर लाखौँको सामानको हिसाब किताबमा आफू अनुकूल चापागाईँले नगरेकोले अरू सरोकारवाला पदाधिकारीहरुसंग छलफल गरेर प्रक्रियागत ढङ्गले नभई एकल निर्णयबाट सरुवा गरिएको बुझिएको छ ।

बीपीमा बढ्दो विकृतिका तथा अनावश्यक रुपमा दवावका कारण यस भन्दा अघि कोभिड अस्पतालका प्रमुख डा. कृष्णा पोखरेलले पनि राजीनामा दिएकी थिइन् ।