इटहरी : इटहरी उपमहानगरले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले लैनो गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

इटहरी उपमहानगर पशुपंक्षी शाखा प्रमुख दुर्गालाल श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा पनि ३० वटा गाई भैँसीलाई सुत्केरी भत्ताको दिइएको थियो।

पशु बिमा गरेका पशुपालन किसानलाई गाई भैसी सुत्केरी भएपछि २५ सयका दरले भत्ता दिने गरिएको क्षेष्ठले बताए ।

कृषकहरूले पालेका गाई भैँसीलाई लैनो अवस्थामा पोषक खानेकुरा र भिटामिन दिएर दूधको उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रोत्साहन स्वरूप भत्ता दिन थालिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।

चालु आर्थिक वर्षमा सय वटा लैनो पशुकालागि भत्ता दिन बजेट विनियोजन गरिएको उपमेयर गौतमले बताइन ।

लैनो पशुलाई भत्ता दिएर पशु बिमामा पनि प्रोत्साहन मिलो भन्ने उद्देश्यले भत्ता योजना राखिएको शाखा प्रमुख श्रेष्ठले बताए ।

यो आर्थिक वर्षमा २५ सय मूल्य बराबरको भिटामिन र पोषणयुक्त पशु खाद्य सामग्री खरिद गरेर वितरण गर्ने योजना समेत रहेको उनले बताए ।