धरान : हाल हङकङमा रहेका दम्पतीले तेह्रथुमका दुई संस्थालाई एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको पौठाक घर भई हाल हङकङमा रहेका समाजसेवी तथा फिल्म निर्माता किशोर पन्धाक र उनको श्रीमती सिता तुम्बापोले तेह्रथुमको जिरिखिम्तीमा रहेको वृद्ध विश्राम तथा परोपकार केन्द्रलाई ५० हजार र रेडियो मेन्छ्यायेमलाई ५० हजारको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

रेडियो मेन्छ्यायेमका स्टेसन म्यानेजर भगिश्वर लिम्बुका अनुसार जिरिखिम्तीमा रहेको वृद्ध विश्राम तथा परोपकार केन्द्रलाई ५० हजार र रेडियो मेन्छ्यायेमलाई ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी दिने हङकङबाट जानकारी दिएका हुन् ।

समाजसेवी तथा फिल्म निर्माता किशोर पन्धाक र उहाँका पत्नी सिता तुम्बापोले आफ्ना स्वर्गीय आमा श्रीमाया थक्लेनको स्मृतिमा दुई संस्थामा अक्षय कोष स्थापना गरिदिने भएका हुन् । पन्धाक दम्पतीले थात्थलो ,घरजम नेपाली फिल्म निर्माण गरी सकेका छन् भने विभिन्न लिम्बु पालामहरु समेत तयार गरेका छन् ।