धरान : धरान १३ र ४ नम्बर वडाको सिमानामा पर्ने निशाने नजिकै पहिरो खस्दा एउटा घरमा क्षति पुराउनुको साथै धरान धनकुटा सडक पनि पुरेको छ ।

निरन्तरको वर्षा सँगै आज दिउसो गएको पहिरोले निशाने डाडाको नजिकै अम्बर राईको घरको ट्वाइलेट बगाउनुको साथै घर बस्न नहुने गरी चर्किएको छ ।

धरान धनकुटा सडक खण्डको भित्तातिर गएको सो पहिरोले सडक पुर्दा दिउसो डेढ घण्टा धरान धनकुटा सडक समेत अवरुद्ध भएको थियो । साँझ सडक डिभिजन कार्यालय, स्थानीय, अमरहाट प्रहरी चौकीका प्रहरी र सशस्त्र प्रहरीले पहिरो पन्छाई एक तर्फी बाटो सञ्चालनमा आएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

यस्तै पानी परिरहे अरू पनि पहिरो झनै सक्ने भएकोले पहिरोले क्षति पुर्‍याएको अम्बर राईको परिवारलाई छिमेकीकोमा सारिएको पनि अध्यक्ष काफ्लेले बताए ।

Pahiro-1