झापा : झापाको दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् । मल व्यवसायीसँग पैसाको लेनदेन गरेको भेटिएपछि एक जना असई, हवल्दार, जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउँदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरी भोलिपल्टै छाडेका थिए । पण्डितले भने, “प्रहरीको चेन अफ कमान्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरू बिस्तृत अनुसन्धानबाट खुल्ने छ ।” यथार्थ विवरण उपल्लो तहमा पेस नगरेको आरोप उनीहरूमा छ ।

असई भरत कोइराला सहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल निलम्बनमा परेका हुन् । भदौ २४ गते बेलुका ताराबारीमा उनीहरूले ट्याक्टर समातेका थिए ।

उनीहरूले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ । डिएसपी पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेकाले अहिले यथार्थ बुझ्ने काम भइरहेको छ ।