लेटाङ : मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ र ६ मा अवस्थित त्रिबेणी सामुदायिक वन उपभोक्ता समितिलाई त्रिबेणी सामुदायिक वन उपभोक्ता सरोकार समूहले आज बिभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ ।

उपभोक्ता समितिलाई थाहै नदिई सो वनको सिमाना सार्ने, सिमानामा गाडीएका पिल्लरहरु उखेल्ने कार्यमा स्वयम समिति नै सक्रिय भएको हुँदा यसले उपभोक्ता र संस्थाकै हित बिपरित काम गरिएको सरोकार समूहको ठहर छ ।

समितिका अध्यक्षलाई बुझाईएको ज्ञापन पत्रमा सिमानाका पिल्लर उखेल्नुपर्ने कारणसहित आर्थिक पारदर्शिताका बिषयमा समेत सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ ।

आफ्ना मागहरु ७ दिनभित्र संबोधन नगरिए आम उपभोक्ता शशक्त कार्यक्रम सहित प्रस्तुत हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको उपभोक्ता समिति स्वयम जिम्मेबार हुनुपर्ने त्रिबेणी सामुदायिक वन उपभोक्ता सरोकार समूहका सदस्य दुर्गा घिमिरेले जानकारी दिए ।