काठमाडौँ : प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन सबैमा आव्हान गरेको छ ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सघाऊ पुर्याउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको काउन्सिलले जनाएको छ । 

सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ । काउन्सिलमा रहेका सञ्चारसँग सम्बन्धित पुराना उपकरण रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर लगायतका सामग्री समेत सङ्ग्रहालयमा राखिने भएको छ । 

सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्क रूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने स-शुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।