धरान : मोरङको सुन्दरहरैचा नगरपालिकाकी कोरोना सङ्क्रमित ६३ वर्षीय महिलाको एम्बुलेन्समै मृत्यु भएको छ ।

केही दिन अघि देखि बिरामी रहेकी ती महिलालाई केही दिन अघि बीपीका डाक्टरले निमोनिया भएको छ यहाँ नराख्नुस् घरै लानुहोस् भनेर घर पठाई दिएका थिए । घरमै राखिएकी महिलालाई कोरोना भएको पनि भनिएको थिएन ।

तर आज उनी अचानक घरमा बाथरुममा लडेर बेहोस भएपछि उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याउँदा बिरामी कोरोना सङ्क्रमित भनिएको र भर्ना नै हुन नपाई एम्बुलेन्समै मृत्यु भएको बिरामीका आफन्तले बताएका छन् ।

बिरामीका आफन्तका अनुसार आज कोरोना सङ्क्रमण भएको चिकित्सकले भने यस भन्दा अघि भनेन् सबै आफन्त बिरामी हेर्न घरमा आए । आज बीपीमा ल्याउँदा कोरोना भने र कोभिड अस्पतालको गेटमा ल्याई पुर्याउदा उनको एम्बुलेन्समै मृत्यु भयो ।

यसरी चिकित्सकले कोरोना सङ्क्रमितलाई कोरोना भएको भनेर नभनेको र मृत्यु भइसकेपछि विराटनगरबाट आएको शव व्यवस्थापन टोलीका सुरक्षाकर्मीले शव नियन्त्रणमा लिएर शव लिएर गएको मृतकका बहिनीले बताइन् ।

कोरोना सङ्क्रमण फैलिरहेको बेलामा चिकित्सकले नै कोरोना सङ्क्रमित बिरामीलाई पनि उनका परिवारलाई सङ्क्रमित हो भनेर नभनिदिँदा चिकित्सक कै ठुलो लापरवाही भएको मृतकका आफन्तले बताएका छन् ।