धरान : धरानमा बुधवार राति थप ९४ जना कोरोना सङ्क्रमित थपिए सँगै बुधवार एकै दिन २४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

बुधवार बिहान ११३ जना, साँझ ३६ जना र राति ९४ जना गरी बुधवार मात्रै २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

बुधवार दिउसो धरान १५ का एक जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा बसेका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । यसै गरी बुधवार साँझ धरान १६ बस्ने ८६ वर्षीय अर्को कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको महाशाखा प्रमुख उमेश मेहेताले जानकार दिएका छन् ।

धरानमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसङै मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । बुधवार मात्रै धरानमा २४३ जना कोरोना सङ्क्रमित थपिनुका साथै दुई जनाको मृत्यु भएको छ । धरानमा कुल सङ्क्रमितको सङ्ख्या १६१२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

यसरी धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक तीव्र गतिमा बढी रहेको भन्दै समयमै धरानमा लकडाउन नगरे भोलि ठुलो भयावह अवस्था आउन सक्ने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् ।