धरान : धरान १७ एन्फा क्वारेनटाइनलाई ५५ बेडको आइसोलेसन बनाइने भएको छ ।

भोलि देखि सञ्चालनमा आउने गरी ५५ बेड मध्येमा २० देखि २५ वटा अक्सिजन सिलिन्डर सहितको बेड तयारी गर्न लागिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बेड अभाव भइरहेको अवस्थामा लक्षण सहितका कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि आइसोलेसन अहिले तयारी भइरहेको धरान १७ का वडाध्यक्ष तथा एन्फा क्वारेनटाइन व्यवस्थापन समितिका संयोजक मनोज भट्टराईले बताए ।

नेपाल सरकारले क्वारेनटाइनलाई आइसोलेसन बनाउनु पर्ने भनिरहेको बेला धरानमा पनि कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्न मापदण्ड नपुगेका र लक्षण देखिएका सामान्य बिरामीलाई राख्नका लागि आइसोलेसन बनाउन लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा पछिल्लो समय होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूबाटै बढी कोरोना सङ्क्रमण फैलिएको भनिएकोले पनि अव घरमा होम आइसोलेसनको मापदण्ड नपुगी बसेका सङ्क्रमितहरूलाई एन्फा आइसोलेसनमा राखिने छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अस्पतालमा रेफर गर्ने गरी आइसोलेसन तयार भएको बताइएको छ ।