धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बेतिथि बढेको भन्दै आज प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको टोली प्रतिष्ठान आएको थियो ।

कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामानै त्यहाँका उपकरणहरू के भएर बिग्रिए ? कोरोनाका गम्भीर प्रकारका बिरामीहरूले कोभिड अस्पतालमा किन उपचार पाएनन् ? भन्ने बारेमा मन्त्री घिमिरेले जानकारी लिएका थिए ।

मन्त्री सँगै आइपुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामा नै कसरी भेन्टिलेटर बिग्रियो ? भनेर प्रतिष्ठानका पदाधिकारीहरूलाई प्रश्न गरेका थिए ।

प्रतिष्ठानको कोभिड अस्पताल धरानको मात्रै होइन प्रदेश र प्रदेश बाहिरका गम्भीर प्रकृतिका बिरामीले उपचार पाउनु पर्नेमा पछिल्लो समय उपचार नपाइरहेको गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारीले प्रतिष्ठानको बेतिथिको बारेमा आफूले कडारुपमा कुरा उठाएको बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने “अस्पताल चुस्त दुरुस्त हुनुपर्‍यो, गम्भीर बिरामीले तुरुन्त उपचार पाउनुपर्‍यो ।” कोरोना सङ्क्रमित बिरामीलाई अक्सिजन अनिवार्य चाहिन्छ । तर प्रतिष्ठानको कोभिड अस्पतालमा अस्थायी अक्सिजन प्लान्ट मात्रै रहेछ समयमै स्थायी प्लान्ट किन बनाइएन ? प्रमुख जिल्ला अधिकारीले भने ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरू प्रतिष्ठानका पदाधिकारीहरूलाई दिएको पनि बताए । पछिल्लो समय देशैभर कोरोना संक्रमणदर वृद्धि भइरहेकोले कोरोनाको उपचार हुने अस्पताल चुस्त दुरुस्त राख्नुपर्ने सामाजिक विकास मन्त्री घिमिरेको टोलीले प्रतिष्ठानलाई सुझाव दिएका छन् ।

मन्त्रीसँगै प्रतिष्ठानमा मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखको सहभागिता रहेको थियो । मन्त्री घिमिरेले पनि कमीकमजोरी तत्काल सुधार गर्न निर्देशन दिएका छन् । बैठकले प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रूपमा विकास गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाडै पुरा हुने जानकारी उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिएका थिए । कोभिड अस्पतालको ९ वटा भेन्टिलेटर मध्ये ५ वटा चलिरहेको र बाँकी ४ वटा बिग्रिएकोले मर्मत भइरहेको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले बताएका छन् ।