आज बडा दशैंको पहिलो दिन घटस्थापना, घरघरमा वैदिक विधिपूर्वक जमरा राखिँदै

  • कार्तिक १, २०७७
  • ६७३ पटक पढिएको
  • सुधाकर पोखरेल
alt

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरूको महान चाड वडा दशैँ आजदेखि सुरु भएको छ । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ।

आजको दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।

आज बिहानै नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जौ (यव) रोप्ने गरिन्छ। जौको अंकुर भगवतीका लागि प्रिय भएकाले देविको प्रसादका रूपमा ग्रहणगर्न जौका अंकुर उमार्ने गरिन्छ। यसरी उम्रिएका जौका अंकुरहरू समृद्धिको प्रतिक मानिन्छन्। अन्तराष्ट्रिय पंचाङ्ग निर्णयक समितिका अनुसार यसपाली घटस्थापनाको शुभ साइत बिहान ११: ४६ मिनेटमा छ भने विजया दशमीको शुभ साहित १०:१९ मिनेटमा रहेको छ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

अर्थात् नवरात्रका नौ दिनमध्ये पहिलो शैलपुत्री, दोस्रो ब्रह्मचारिणी, तेस्रो चन्द्रघण्टा, चौथो कुष्माण्डा, पाँचौँ स्कन्दमाता, छैटौँ कात्यायनी, सातौँ कालरात्रि, आठौँ महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।नवरात्रिका सम्पूर्ण नौ दिन नै भगवतीको आराधना गरिन्छ तर यी मध्ये पनि पहिलो दिन घटस्थापना, सातौं दिन फूलपाती, आठौँ दिन महाअष्टमी, नवौँ दिन महानवमी र त्यसपछि विजयादशमीलाई विशेष रूपमा मनाइन्छ।

घटस्थापना गर्ने विधि
घटस्थापना गर्नका लागि प्रथमतः पुजा कोठा अथवा चोखो ठाउँमा लिपपोत गरिन्छ तत्पश्चात पदीप–कलश–गणेश स्थापना गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गरिन्छ। घडाको वरिपरि नौवटा गोबरका बेदि बनाई बनाईन्छ र त्यस वेदि उपरि जौ छरिन्छ। यसरी जमरा उमारिएको घडालाई अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतिक मानिन्छ।

त्यसपछि तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी त्यसमा ‘नवाक्षर मन्त्र लेख्नु पर्दछ । अर्थात् "ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा" नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गरिन्छ । जगदम्बा भानीलाई खुसी पार्नका निम्ति "ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे" नवार्ण मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ गरिन्छ ।
यसै विधिलाई घटस्थापना भनिन्छ । यस पछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ ।

आजनवरात्रिको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात हुनुहुन्छ । पर्वतराज हिमालय को घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ । शैलपुत्री शब्द दुईवटा शब्द बाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्रीशब्द निर्माण भएको हो । हिमालय राजा शैलपुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गर्नुभएकी एवम् अत्यन्त मनोहर स्वरूपमा सजिनुभएकी देवी का वाहन वृष अर्थात् साँढे हो ।माता आफ्नो दायाँ हातमा त्रिशूल तथा बाँया हातमा पद्म धारण गर्नुहुन्छ । नाना प्रकारका अलंकार तथा उत्तम वस्त्र धारण गरेकी देवी सुन्दर कन्याजस्तै देखिनुहुन्छ ।

ब्रह्मा जीको प्रार्थना स्वीकार गर्दै, देवी नै पूर्व जन्ममा ब्रह्म पुत्र दक्षको घर सती स्वरुपमा पृथिवीमा अवतरित हुनुभएको थियो र भगवान् शंकरसँग उहाँको विवाह भएको थियो । आफ्ना पिता दक्षप्राजापतिका घरमा प्राणी प्रिय पतिको निन्दा सुनेर उहाँले योग अग्नीमा फाल हानि समाधि लिनुभएको थियो । भगवान शिवले जब उनको प्रियतमा जगदम्बा भगवतीले आफ्नो पिताको यज्ञ अनुष्ठानमा देह त्याग गरिदिनुभयो भनेर थाहा भयो तब शिवजी घोर क्रुद्ध भई आफ्ना गणहरू लिएर दक्ष को यज्ञ लाई विध्वंस गरिदिनुभयो। यसैबेला तारकासुर दैत्यले ब्रह्माजी को कठोर साधना गरेर ब्रह्माजी लाइ प्रसन्न गरी तीनै लोकमा अधिकार तथा अमरत्व प्राप्त गरेको थियो ।

उसले वरधानमा भगवान शिव कै पुत्र बाट उसको मृत्यु हुने इक्षा प्रकट गरेको थियो यसकारणले ऊ अमर जस्तै भएको थियो।, किनभने सतीको समाधि पश्चात भगवान शिवजी कैलाशमा सधैं ध्यान र योगसाधनामा मग्न भएर वैरागी हुनुभएको थियो, अतः शिवजीको पुत्र उत्पन्न हुन त असम्भव थियो। यस तर्कले गर्दा तारकासुरले सम्पूर्ण देवताहरूलाई स्वर्गबाट निकालेर स्वयं देवराज इन्द्र को आसन आसीन भएर तीनै लोकमा राज गर्न थाल्यो तत्पश्चात् यस्तो घोर समस्याको निवारणका लागि सम्पूर्ण देवता तथा ब्रह्माजी एकत्र भएर आदिशक्तिको जगदम्बा भगवतीको अराधना गर्नुभयो र आद्यशक्ति लाई पुनः शरीर धारण गरेर, भगवान शिवको अर्धाङ्गिनी बन्नको लागि प्रार्थना गर्नुभयो ।

जगत् जननी माताले देवताहरू तथा ब्रह्माजी को प्रार्थना सुनी हिमालयराजको पुत्री कारूपमा जन्म लिनुभयो, शैल अर्थात् हिमालयकी पुत्री भएकै कारणले आद्यशक्ति शैलपुत्री नामले प्रसिद्ध हुनुभयो र कालान्तरमा पर्वत राजको पुत्री भएकै कारणले पार्वती नामले प्रख्यात हुनुभयो।

घटस्थापनाका दिन शैलपुत्री देवीको आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्यमोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने विश्वास गरिन्छ । शैल पुत्रिलाई सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी पनि भन्ने गरिन्छ । शैलपुत्रीको ध्यान गर्ने मन्त्र 'ॐ देवी शैलपुत्र्यै नमः । अथवा 'ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम: हो।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved