इटहरी : इटहरी उपमहानगरले इटहरीका ४ वटा मासु पसललाई सिल गरेको छ ।

आज बिहान इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा नगर प्रहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, इलाका प्रहरी सहित गएको बजार अनुगमन टोलीले इटहरी पश्चिम लाइनमा रहेका नमस्ते मासु पसल, मामा मिट सेन्टर, इटहरी मिट सेन्टर र सन्जेल मिट पसलमा सिल गरेको हो ।

उक्त पसलले न्यूनतम स्वास्थ्य मापदण्ड पनि पुरा नगरी बिक्री गरेको, व्यवसाय कागजपत्र नलिई सञ्चालन गरेको, पसल अगाडी जाली नलगाई व्यापार सञ्चालन गरेको पाइएपछि सिल गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।

एक हप्ता अगाडी बजार अनुगमनका क्रममा उक्त पसललाई आवश्यक मापदण्ड पुरा गर्न पत्र लेखिएको थियो तर उक्त पत्रको बेवास्ता गरी व्यवसाय सञ्चालनको गरेको पाइएपछि बाध्य भएर सिल गर्नु परेको उपमेयर गौतमको भनाई छ ।