विराटनगर : सङ्क्रमितहरू आइसियु र भेन्टिलेटरसम्म पुग्न नपरोस् भन्ने उद्देश्यसाथ विराटनगरमा एक सय बेड क्षमताको प्रिकोभिड-१९ अस्पताल सञ्चालन गर्ने विषयमा निजी स्तरमा छलफल सुरु भएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल सुरु भएको हो । यस विषयमा शनिवार आयोजित भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल सञ्चालन गर्ने विषयमा आफूहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आइसियु र भेन्टिलेटरमा बढ्दै गएको चाप अस्पतालहरूले थेग्नै नसक्ने अवस्थामा पुगेकोले विराटनगरमा अक्सिजन चाहिने बिरामीलाई सेवा दिने गरी छलफल सुरु गरिएको बताए । उनले भने “विराटनगरमा एक सय बेडको कोभिडका लक्षण भएका बिरामीलाई प्रिकोभिड-१९ अस्पताल सञ्चालन गर्न सकिन्छ ।

अहिले विराटनगरमा हरेक दिन अस्पतालमा आइसियु बेडको माग हन थालेको तर बिरामीले अस्पतालको गेटबाटै फर्कनु पर्ने अवस्था आएको सहभागीको भनाइ थियो । काठमाडौँमा समेत अस्पतालमा बेड पाउन निक्कै कठिनाइ हुने गरेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्व डिन डा. जगदीश अग्रवालले आइसियु र भेन्टिलेटरसम्म पुग्न नदिन प्रिअस्पतालको कन्सेप्ट उचित हुने बताए ।

उनले भने,“आईसोलेसनबाट आइसियु पठाउनु पर्ने अवस्था आउन नदिन प्रिअस्पताल सञ्चालन गर्न सकिन्छ । अस्थायी संरचना बनाउन सकिन्छ । सरकारलाई सहयोग गर्ने उद्देश्यले नै चलाउनु पर्छ । रुघाखोकी सहित ज्वरो तथा निमोनिया भए दुःख दिन सक्ने भएकोले त्यस्ता बिरामीलाई प्रिअस्पतालमा राखेर अक्सिजन सहितको सेवा दिए मृत्यु हुनबाट बचाउन सकिन्छ ।”

चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल सञ्चालन गर्न सकिने र भएकै संरचनालाई अस्पतालमा परिणत गर्दा खर्च बचाउन सकिने बताउँदै भने,“अहिले अस्पताल भरिएका छन् । जान नपर्ने पनि गएका छन् । उनीहरूलाई प्रिअस्पतालमा राखेर केयर गरेर अक्सिजन मात्र दिन सकियो भने पनि धेरैलाई बचाउन सकिन्छ ।

नेपाली काँग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्कीले समय घर्कँदै गएकोले अब ढिलाइ गर्न नहुने बताए । मेडिकल कलेजका संरचनालाई पनि कोभिड अस्पताल बनाउन सकिन्छ ।” काँग्रेस सचेतक सूयर्माराज राईले कोभिडले प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या थपिदैं जाँदा अवस्था भयावह हुँदै गएको बताए ।

उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रिअस्पताल सञ्चालन गर्न निजी क्षेत्रको सहयोग सधैँ रहने बताउँदै भने,“हामी प्रिअस्पताल सञ्चालन गर्न सकारात्मक छौँ । यो काममा सरकारले पनि सहयोग गर्नुपर्छ ।”

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको बताए । उद्योगी सुशील धनावतले विराटनगरमा बढ्दो कोभिड ग्राफ भयावह अवस्थामा पुगेको बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले निजी क्षेत्रले सरकारको काममा सधैँ सहयोग गर्दै आएको सुनाए ।

विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले यो अभियानमा सहयोग गर्ने बताए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्ने ठुलो चुनौती रहेको भन्दै अब प्रिकोभिड-१९ जरुरी भएको बताए । भने,“अस्पतालसम्म पुग्नुअघि अक्सिजन चाहिने बिरामीको लागि यो अस्पताल अति नै महत्त्वपूर्ण हुनेछ ।” मेयर पराजुलीले यो कार्यमा विराटनगर महानगरले पहलकदमी र नेतृत्व लिन सक्ने बताए ।

मेयर पराजुलीले चालु रहेका अस्पताल वा सामुदायिक भवनमा अस्पताल सञ्चालन गर्ने विषयमा थप गहन छलफल गर्ने बताए । काँग्रेस नेता डा. शेखर कोइरालाले कोजाग्रत पूर्णिमासम्म शुभारम्भ गर्ने गरी तयारी थाल्न सुझाब दिदैं आफूले सबै किसिमको सहयोग गर्ने बताए ।