धरान : धरान उपमहानगरपालिकामा आइतबार साँझ ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार एन्फा क्वारेनटाइनमा शुक्रवार लिईएको २ सय ५६ जना र शनिवार लिईएको १९ जना गरी २ सय ७५ जना मध्येबाट ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरानमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १९२८ पुगेको छ । यसै गरी धरानमा आज धरान ८ लाङ्घाली चौकका ८३ वर्षीय महिला र धरान ८ कै ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

दुवै जना होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित रहेको स्वास्थ्य प्रमुख मेहेताले बताए । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।