विराटनगर : युएनडिपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो ।

युएनडिपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई युएनडिपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए । कोभिड अस्पतालमा थप बेड विस्तार सहित १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले निजी स्तरको सहयोगमा अक्सिजन सहित एक सय बेडको अस्पताल सञ्चालनको तयारी गरिरहेको बताए ।

युएनडिपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा। चुुमनलाल दासले बताए ।