विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरू हराउँदै गएको बताएका छन् ।

उनले नेपाली शब्दावली लोप हुने तर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित 'नेपाली भाषा : चुनौती र समाधान' विषयक अनलाइन कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन।

उनले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौती थपिएको बताए । उनले भने‘ कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अङ्ग्रेजीबाट सिकेको कुरा मात्र सही हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उनले जोड दिए ।

सिकाई कुनै पनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले भने,‘ अङ्ग्रेजी नै सबै कुरा होइन ।’ सिकाइका कुनै पनि माध्यमहरू हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको मन्त्री घिमिरेले बताए ।

नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरूको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बताए । कार्यक्रममा प्रा.डा. टङ्कप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले 'नेपाली भाषा : चुनौती र समाधान' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरूले टिप्पणी गरेका थिए ।