दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

कुष्माण्डा भगवतीको स्वरूप

नवरात्रको चौथे दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिएको हो।

तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ। देवीको स्वरूप मनोहर तथा दिव्य कांति युक्त रहन्छ । कुष्मांडा भगवतीको वाहन बाघ हो।

देवी भागवत अनुसार ब्रह्माण्ड की उत्पत्ति पूर्व जब सृष्टिको अस्तित्व नभएको बेला, चारैतिर मात्र अँध्यारो नै अँध्यारो थियो, त्यो समय देवी कूष्माण्डा आफ्नो हास्य बाट ब्रह्माण्ड लाई उत्पन्न गर्नुभएको थियो, देवी कुष्माण्डा साक्षात आदि शक्ति हुनुहुन्छ, वहाँ बाटै समस्त जगतको उत्पत्ति भएको हो, त्यस भन्दा पुर्व यो ब्रह्माण्ड कुनै अस्तित्व थिएन ।देवी कुष्माण्डा सूर्यमंडल अन्तर्गत आउने समस्त लोकमा निवास गर्नुहुन्छ। सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवी कै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ ।

नवरात्रको चौथी तिथि देवी कूष्माण्डालाइ समर्पित छ।

नवरात्र को चौथे दिन माता कुष्मांडाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजा आदि गर्ने गरिन्छ । माता कुष्मांडा भगवतीको भक्ति गर्नाले रोग, शोक नष्ट भई, आयु, यश र बलको वृद्धि हुनुका साथै देवी कुष्माण्डा माता अल्प साधना या भक्ति मात्रले प्रसन्न हुनुहुन्छ ।

देवि कुष्माण्डाको अन्य नाम: अष्टभुजा देवी, आदि-स्वरूपा, आदिशक्ति हो र उहाँलाई उपासना गर्ने मन्त्र: 'ॐ देवी कूष्माण्डायै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नम:' हो।

आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।