धरान : धरानमा मङ्गलवार साँझ थप ३० जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार थपिएका सङ्क्रमित सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २२४३ पुगेको छ ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १६ का एक वृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार असोज ३० गते उनलाई कोरोना पुष्टि भएको थियो भने आज अपराह्न ४ बजे उपचारको क्रममा कोभिड अस्पतालमा मृत्यु भएको हो ।

यसै गरी धरान १२ का एक जना कोरोना आशङ्का गरिएका एक वृद्ध अन्दाजी ७० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । आइतबार उनको स्वाब लिइएकोमा रिपोर्ट हराएकोले उनमा कोरोना आशङ्का गरिएको भए पनि कोरोना पुष्टि भने भएको छैन । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।