आज बडादशैंको पाँचौं दिन । वैदिक धर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा-आराधना गरेर मनाउँदै छन् किनभने नवरात्रिको पाॅचौ दिन आज स्कन्द देवीको पूजा आराधना गर्ने गरिन्छ।

भगवान शिवलाई महेश्वर पनि भनिन्छ , तीनै महेश्वर भगवानकी पत्नी भएकी हुॅदा उहाँ लाई माहेश्वरी पनि भनिन्छ । उहाँ को वर्ण गोरो भएकोले उहाॅको गौरी नाम पनि लोक प्रसिद्ध छ । स्कन्द माता हिमालयकि छोरी हुनुहुन्छ त्यसैले उहाँलाई नै पार्वती पनि भनिन्छ। अर्थात् भनौं भगवान शिव शङ्करकि पत्नी भनेर जो पार्वती भनेर जान्दछौॅ हामी ती पार्वती देवी नै स्कन्द माता हो जसलाई आजकै दिन आराधना गर्ने प्रचलन छ । भन्ने गरिन्छ कि यीनको कृपाले कुनै मूर्ख पनि महाज्ञानी हुन्छ । स्कन्द कुमार "कार्तिकेय" की आमा अथवा माता भएकी हुनाले यीनलाई स्कन्दमाता भनिएको हो ।

स्कन्द माताको विग्रहमा (स्वरूपमा) स्कन्द भगवान बाल रूपमा काखमा विराजमान भएको शास्त्रोक्त प्रमाण भेटिन्छ। माता स्कन्द विशेषतः चेतना निर्माण सॅग सम्बन्धित हुनु भएको हुॅदा उहाँ विद्वान, ज्ञानी, महात्मा आदिको अभिवृद्धि हेतु हुनुहुन्छ । महाकवी कालिदास द्वारा विरचित ' रघुवंश महाकाव्य ' र 'मेघदूत' उहाँ कै कृपा , अनुग्रह बाट सम्भव भएको हो भन्ने मान्यता पनि रहेको छ ।

स्कन्दमाताको पुरा स्वरूप कस्तो छ त ?

उहाँ चारभूजाले युक्त हुनुहुन्छ । माताका माथिका दुई हालमा कमल सुशोभित छन् भने तलको एक हातले बालक स्कन्दलाई काखमा राख्नु भएको छ भने अर्को हातले आफ्ना साधक तथा उपासक लाई आशीर्बाद दिने मुद्रामा अर्थात् वरमुद्रामा कमलको आसनमा विराजित हुनुहुन्छ त्यसैले उहाँलाई पद्मासना पनि भनिएको हो भने उहाँ को वहान चाहिँ सिॅह हो, त्यसैले उहाँलाई सिंहबाहिनी नामले पनि जानिन्छ।

उहाँ पीत वस्त्रधारी अर्थात् पहेलो वस्त्र धारण गर्नु हुन्छ किनकी माताको प्रिय रङ्ग पहेलो हो अतः उपासकहरुले आजको दिन स्कन्द माताको प्रसन्नताका लागि पहेले वस्त्र अर्पण अथवा दान गर्न पनि सक्नु हुनेछ । सौर्य मण्डलकि अधिष्ठातृ देवी भएकी हुॅदा उहाँका उपासक अत्यन्त तेज र कान्तिमय हुने गर्दछन्। आफ्नो सन्तान स्कन्द सॅग अत्यन्त प्रेम भएको हुॅदा मातालाई पुत्रको नाम जोडेर स्मरण वा आह्वान गर्दा हर्ष लाग्ने भएको ले नै उहाँलाई पुत्रनाम अर्थात् स्कन्द जोडेर स्कन्दमाता भनिएको हो त्यसैले उहाँलाई ममता र वात्सल्य कि देवी भनेर आराधना गरिन्छ, गरिएको हो र गर्न आवश्यक पनि छ ।

उनको पूजा र उपासना गर्ने व्यक्ति पुत्रलाई प्राप्त गर्दछ। स्कन्द माताको पूजा गर्ने व्यक्ति लाई कुमार कार्तिकेय को पनि पूजा गरेको लाभ प्राप्त हुन्छ । सुख , शान्ति र मोक्षदायिनी माता हुनुहुन्छ उहाँ । उहाँ को बीज मन्त्र "ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नमः " हो। यस मन्त्रले एक, सात अथवा एघार माला जप गरेर शुद्ध वस्तुको हवन गर्नु पर्दछ। उहाँको उपासना गर्ने अर्को मन्त्र हो " ॐ स्कन्दमातायै नमः " हो।