विराटनगर : प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्रामको गुरुयोजनाबारे छलफल गरिएको छ ।

शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाइन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिइने खतिवडाले बताइन् ।

ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम् कोइरालाले प्रस्तुति गरेका थिए । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको हो । १० बिगाहा १४ कठ्ठामा ७२ वटा घरहरू निर्माण गरिने छ ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरू भन्दा स्तरीय बन्ने बताए ।

जेष्ठ नागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट सुरु गरिएको मन्त्री घिमिरेले बताए । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने मन्त्री घिमिरेले बताए ।

छलफल कार्यक्रममा ज्येष्ठ नागरिक अभियानन्ताहरु मणि अज्र्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।

Gramthan