इटहरी : नेपाली सेनाले एभिन्युज खबरका प्रदेश नम्बर १ का प्रादेशिक ब्युरो प्रमुख तथा पत्रकार सचिन पोख्रेललाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ ।

महासप्तमी तथा फूलपातीको अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको समग्र हितकालागि आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान गरेको भन्दै  पोखरेललाइ प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गरेका हुन् ।

पोख्रेल पूर्वी नेपाललाई कार्यक्षेत्र बनाइ दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। पत्रकारिताको अतिरिक्त उनी विगत लामो समयदेखि सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।

सोही समारोहमा प्रधानसेनापति थापाले अनलाइनखबरका गौरव पोखरेल र सेतोपाटीका सञ्जीव बगालेलाई समेत  प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे । त्यसैगरी अन्नपुर्ण पोस्टका शम्भु कट्टेल पनि प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित भएका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाँई पनि सो पदकबाट सम्मानित भएका छन् । नेपाली सेनाका विभिन्न तहमा रहेर उत्कृष्ट काम गर्नेहरू विभिन्न व्यक्तिहरूलाई समेत पदक प्रदान गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।