इटहरी : ‘मैले काम गर्ने मिडिया हाउसले तलब नदिएको अवस्थामा प्रेस युनियन सुनसरीले मलाई दसैँ खर्च दिएर ठुलो गुन लगायो । युनियनका अध्यक्ष पवन अधिकारीले धेरै राहत र हौसला प्रदान गर्नुभयो । म अत्यन्तै खुसी छु ।,’ पत्रकार आसीस यादवले कपुरी न्युजलाई भने ।

नेपाल प्रेस युनियन सुनसरीले घरघरमा पुगेर दसैँ खर्च बापत सहयोग गरेपछि यादव जस्तै सुनसरीका २० जना कोरोना पीडित पत्रकारले राहत महसुस गरेका छन् ।

कोरोना बिमा बापतको रकम तत्काल उपलब्ध नहुने भएपछि युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी आफैले लगानी गरेर हरेक पत्रकारलाई १० हजारका दरले सहयोग गरेका हुन् । कोरोना सङ्क्रमण सुरु भए लगत्तै युनियनले सुनसरीका सम्पूर्ण पत्रकारको कोरोना बिमा गरिदिएको थियो । सोही बापतको रकम आउने ढिला हुने भएपछि दसैँ खर्च बापत सहयोग उपलब्ध गराएको अधिकारीले बताए ।

उनका अनुसार कोरोना बिमा बापतको १ लाख रकम आएपछि त्यसमा काटिने गरी अग्रिम १० हजार उपलब्ध गराइएको हो । लामो समय देखी काम गर्न नपाएका पत्रकारलाई महान् पर्व बडा दसैँमा आर्थिक समस्या पर्न सक्ने बुझेर सहयोग गरिएको उनको भनाई छ ।

उता कोरोना बिमा बापतको रकम अग्रिम पाएकोमा पत्रकार समीर कार्कीले खुसी व्यक्त गरे । धरै पत्रकारका नेता तथा ठेकदार हरू आए तर सबै गफ मात्रै गर्ने रहेछन् ।, उनले भने, पवन जिले पत्रकारको हक हितको लागी जुन मेहनत र सहयोग गर्नु भएको छ यसको जति प्रशंसा गरे पनि हुन्छ । यस्तो विषम परिस्थितिमा घरघरमा सहयोग पुराउँदै हिँड्नु अत्यन्तै सराहनीय काम हो ।’

त्यस्तै पत्रकार अर्जुन शर्माले युनियनको सहयोगले कोरोना पीडित पत्रकारलाई राहत महसुस भएको बताए । युनियनले पछिल्लो समय पत्रकारको हकहितको लागी गरेको कामको प्रशंसा गर्दै उनले श्रमजीवी पत्रकारको लागी युनियनले भरपुर सहयोग पुर्‍याएको बताए ।