धरान : देशकै महत्वपुर्ण शक्तिपीठमध्ये धरान-१४ विजयपुरमा रहेको दन्तकाली शक्तिपीठ लगायतका विजयपुरका मठमन्दीरहरुमा यो वर्ष नौरथामा समेत सुनशान भए ।

विगतका बर्षहरुमा नेपालबाट मात्र हैन भारतबाट समेत शक्तिपीठको महिमा सुनेर आउने गरे पनि यो वर्ष कोरोना भाइरस कोभिड-१९ को विश्वव्यापी महामारीमा मन्दिर व्यवस्थापन समिति र स्थानीय सरकारले मन्दिरमा भक्तजनहरूलाई पूजाआजा गर्न रोक लगाएपछि प्रदेश नं. १ कै शक्ति पीठको रूपमा रहेको दन्तकाली मन्दिर सुनसान रहेको हो ।

विगतका वर्षहरूमा घटस्थापनादेखि नवमीसम्म दन्तकाली शक्तिपीठमा पूजा गर्नेको भीड थामिनसक्नु हुने गर्दथ्यो । यस वर्ष भने सर्वसाधारणलाई मन्दिरमा पूजा गर्न रोक लगाइएका कारण नित्य पूजाबाहेक अन्य पूजा नहुने गरेको पुजारीहरू बताउछन।

नौरथा सुरु हुने बित्तिकै विजयपुरको रौनकता नै बेग्लै हुन्थ्यो । बिहान १ बजेदेखि नै दन्तकाली मन्दिरमा भीड लाग्ने गर्थ्यो । यस वर्ष भने बाहिरबाट त परै जाओस् धरानका स्थानीयहरू समेत कोभिडका कारण नआउँदा सुनसान रहेको स्थानीयहरू बताउछन ।

प्रत्येक वर्ष नौरथाको समय दन्तकाली मन्दिरको विशेष महत्त्व भएकै कारण भीड बढ्ने सम्भावनालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरी मन्दिर बन्द गरेको जानकारी गराइएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

विशेष गरी दन्तकालीमा फूलपाती भित्र्याएपछि मात्र दसैँ आएको भान हुने धरानमा यस वर्ष तामझाम, बाजागाजाका साथ फूलपाती भित्र्याउने कार्यक्रम भएन खाली औपचारिकता निभाउने काम मात्र भयो ।

दन्तकाली शक्तिपिठ :

सत्य युगमा मृत्यु भएकी आफ्नी पत्नी सतीदेवीलाई भगवान् शिवले काँधमा राखेर हिँड्ने क्रममा सतीदेवीको अङ्ग पतन हुन थाल्यो ।

यसरी झर्ने क्रममा नेपालमा चार स्थानमा झरेको धार्मिक ग्रन्थमा उल्लेख छ । यसरी झर्ने क्रममा संखुुवासभामा दाहिने आँखा खसेकोले शिद्धकाली, गुहेश्वरीमा गृहय पतन भएकाले गुहेश्वरी, वागे्श्वरीमा जिब्रो खसेकोले बागेश्वरी र धरानको विजयपुरमा दाँत खसेकोले दन्तकाली नामकरण भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस्तो महत्त्व बोकेको दन्तकालीनमा यस वर्ष कोरोनाका कारण नित्य पूजाबाहेक केही हुन सकेन । स्थानीय सरकार, सङ्घीय सरकार, तथा प्रदेश सरकारले समेत सुरक्षित भएर महान् चाड घर घरमै मनाउन आव्हान गरिसकेको छ ।

Dantakali-1