पथरी : अघिल्लो वर्षको चैत्र सम्म मोरङको मिक्लाजुङ्ग-५ साम्लिङका गायत्री कुलुङ्ग कृषि मजदुर थिए ।

गाउँघरमा हुने मेलापातमा सक्रिय रहने उनको रुचि मूर्तिकला तर्फ पनि थियो । बजार चोकमा बनाइएका मूर्ति र सालिक कसरी बनेका छन् भन्ने हेरेरै मूर्ति बनाउन थालेका उनलाई सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न भन्दै ‘लकडाउन’ गरेपछि मूर्ति बनाउन थप मार्ग प्रशस्त बन्यो । सरकारले गरेको लकडाउनले उनको अहिलेको जीवनशैली नै परिवर्तन भएको छ ।

८ महिनाका बिचमा सिकेको सिपले अहिले कुलुङ्गलाई व्यावसायिक मूर्तिकारका रूपमा परिचय दिइएको छ ।
लकडाउनले अधिकांशलाई तनाव बनाए पनि कुलुङ्गलाई भने यो समय अवसर बनेर आयो । २४ बर्से कुलुङ्गले लकडाउनकै समयमा माटो र ढुङ्गालाई विभिन्न आकृति दिँदै मूर्ति बनाउन थालेका छन् । उनले बनाएका मूर्ति बिक्री हुन थाले सँगै उनको व्यवसाय पनि राम्रो सँग चल्न थालेका छन् ।

सानै उमेर देखिनै मूर्तिमा सौखिन कुलुङ्गलाई मूर्ति बनाउन चाहिँ लकडाउनले नै सिकायो । उनले भने ‘फुर्सदको समय मिल्यो खोलामा पुगेर ढुङ्गा ल्याएर मूर्ति बनाउन थाले’‘मूर्ति बनाउने रहर सानै उमेर देखी भए पनि यो लकडाउन वाटै मूर्ति बनाउन थाले’।

गाँउघरवाट नजिकैको पहाडी भागमा कमेरो माटो लिन जाँदा उनले त्यही कमेरो माटोलाई विभिन्न भगवानका आकृतिका मृर्ती बनाएर छोडेन गरेका थिए । कुलुङ्गले बनाएका कति मूर्ति त गाउँलेले भगवान् भेटिएको भन्दै घर लाने गरेको कुलुङ्गले बताए ।

माटोमा बनाइने मूर्ति भन्दा ढुङ्गामा आकृति कुद्न थप मेहनत गर्नु पर्ने उनी बताउँछन् । बजार र चोकमा भेटिएका सालिकलाई कसरी बनाइएको छ त्यो हेरेर नै ढुङ्गालाई आकृति दिन थालेको बताउँछन् ।
ढुङ्गा,सिमेन्ट,माटोबाट मूर्ति बनाउँदै आएका उनलाई थप तालिम लिने इच्छा छ । ढुङ्गाको जोहो गर्न नजिकै रहेको तेली खोलामा पुग्ने गर्छन् । ढुङ्गा नजिकै भएकाले उनलाई अरू समस्या भने छैन ।

औपचारिक तालिम बिना नै मूर्तिकला सिकेका उनले हाल सम्म २ सय भन्दा बढी मूर्ति बनाई सकेका छन् । उनले भने ‘बाहिर काममा जानु नपरेपछि मूर्ति निर्माण गर्न समय पाएको र लकडाउन एउटा अवसर बनेर आयो’।

कुलुङले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृति ढुुंगामा कुँदेका छन् । एक मूर्ति बनाउन कम्तीमा पनि ३ महिना लाग्ने र एउटा ढुङ्गाको मूर्ति ३ लाख सम्ममा बिक्री हुने उनी बताउँछन् ।

गाउँघरमा पाइने हाते औजार र केही आधुनिक औजार प्रयोग गरेर उनी मूर्ति निर्माण गर्दै आइरहेका छन् । उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्बरको मूर्ति ठुलो साम्लिङमा राखिएको छ ।

murti-pathari-3