धरान : हङकङमा गए राति नेपालीले सञ्चालन गरेको एउटा क्लबमा भएको आगलागीमा परी धरानका क्लब सञ्चालक सहित ७ जना नेपालीको मृत्यु भएको छ ।

नेपालीले सञ्चालन गरेको एक क्लबमा आगलागी हुँदा धरानका क्लब सञ्चालक सहित सात जनाको मृत्यु भएको हङ्कङबाट संचारकर्मी देवराज राईले कपुरी न्युजलाई बताए ।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो । तीमध्ये सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा १० वर्षीय रायन,३८ वर्षीय युवराज कँडेल, ३९ वर्षीय सेर गुरुङ, ४० वर्षीय रामबाबु, ३० वर्षीय अनिता, ४० वर्षीय विमला र २० वर्षीय एक जना महिला नाम नखुलेका गरी ७ जनाको मृत्यु भएको जनाइएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेहरू अधिकांश पश्चिम नेपालका रहेका छन् भने क्लब सञ्चालक भने धरानको रहेको बताइएको छ। घटनाको पूर्ण विवरण अझै आईनसकेको बताइएको छ ।

घटना स्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बिचमा पर्छ । जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको हङकङ प्रहरीले जनाएको छ ।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए । घाइतेलाई नजिकैको क्वीन एलिजाबेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा उपचारका लागि लगिएको बताइएको छ ।

बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइए पनि यसको पुष्टि भइसकेको छैन । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तस्बिर : मातृदिप राई / बरध्वज ओख्राबो

HK-Aglagi-1