धरान : सुनसरी प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका वडा नं ६ मधेशा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेश मोची र निसान मगरलाई लागु औषध सहित ब्याडमिन्टन कवड हल अगाडीको खुल्ला मैदानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूको साथबाट डाइलेक्स डिसी १ सय एमएलको १४ बोटल, स्पामोप्रोक्सीभान ८ ट्याब्लेट, नाइट्रोभेट १० लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको ५ थान मोबाइल, प्रदेश १०–०२०४१ प ९२९ नम्वरको जिक्सर मोटरसाइकल एक थान बरामद भएको प्रहरीले जनाएको छ । 

यसै गरी इनरुवा नगरपालिका वडा नं १० जल्पपुर सड्क खण्डमा प्लास्टिकको बोरा लिई हरिगर गाउँपालिकाबाट आउँदै गरेको मानिसलाई शङ्का लागी सोधपुछ तथा बोरा चेकजाच गर्ने क्रममा हरिनगर गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को नौसाद अन्सारीलाई अवैध लागु औषध सहित पक्राउ गरेको छ ।

उनको साथबाट डाइलेक्स डिसी १ सय एमएलको ३९ बोटल, स्पामोप्रोक्सीभान ७२ क्याप्सुल, नाइट्रोभेट १० लेखिएको ७७ ट्याब्लेट र एमआई कम्पनीको मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई लागु औषध ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।