सुनसरी : समाजको विभिन्न क्षेत्रमा सक्रिय इटहरीका तीन जना सामाजिक अगुवाहरूले इटहरी ५ को रक्तमाला आधारभूत विद्यालयलाई ३ थान कम्प्युटर निःशुल्क सहयोग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रोहित प्रसाई, नेबिसंघका केन्द्रीय सभापति राजीव ढुङ्गाना र इन्जिनियर भवन खड्काले ८५ हजार मूल्य बराबरको कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा नेबिसंघका केन्द्रीय सभापति ढुङ्गानाले कोरोना भाइरस सङ्क्रमणका कारण आक्रान्त बनेको शिक्षा क्षेत्रलाई प्रविधि मार्फत सिकाइ प्रदान गर्न केही सहयोग पुगोस् भन्ने उदेश्वको साथ कम्प्युटर निःशुल्क सहयोग गरेको बताए ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रोहित प्रसाईँले सात महिना देखी ठप्प रहेको शिक्षा क्षेत्रलाई सरकारले हेर्ने अहिलेको अवस्था प्रभावकारी नभएकाले आफूहरूले सानो सहयोग गरेको बताए । आगामी दिनमा पनि विद्यालयको आवश्यकतालाई हेरेर सहयोग जारी राख्ने प्रसाईँले बताए ।

इन्जिनियर भवन खड्काले सरकारी विद्यालयमा विद्यार्थीले कम्प्युटर देख्न पनि नपाउने विद्यमान अवस्थामा सिकाइमा केही राहत होस भनेर सहयोग गरेको बताए । इटहरी नगर क्षेत्रका सरकारी बिद्यालयहरुलाई विगत देखी नै विभिन्न सहयोग गर्दै आएको र सो सहयोग आगामी दिनमा पनि जारी राख्ने खड्काको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतमान लिम्बुले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै सहयोग गरेको भन्दै यसले विद्यालयको शैक्षिक स्तरमा सुधार हुने बताए ।

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी, उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव पीताम्बर पोखरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य बुद्धहांग लिम्बु, दीपेन्द्र पोखरेल लगायतको उपस्थिति थियो ।