धरान : हरेक वर्ष हरिबोधिनी एकादशी देखि ५ दिन सम्म सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला लाग्ने गर्दछ । यसबर्ष कोरोनाका कारण मेला नलाग्ने भनिए पनि बराहक्षेत्र आउने भक्तजनको घुइँचो बढ्न थालेको छ ।

सुनसरी प्रशासनले कार्तिक शुक्ल एकादशी, ठुलो एकादशी तथा हरिबोधिनी एकादशीमा बराहक्षेत्रमा मेला नलगाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले भने पनि देश विदेशबाट भक्तजनहरू आउने क्रम बुधवार देखि सुरु भएको छ । बराहक्षेत्रमा दर्शन आउने भक्तजनहरूको बुधवार धरानको विजयपुरका मठमन्दिरमा पनि घुइँचो देखिएको थियो ।

कोरोनाको जोखिम कायमै रहेकोले सरकार र प्रशासनले मठमन्दिर बन्द गर्ने निर्णय गरेको भए पनि ठुला मठ मन्दिरहरू खुलेका र विजयपुरका मन्दिरहरूलाई भने बन्द गरिएको विजयपुरका मन्दिरहरूका पुजारीहरूले बताए ।

यदि प्रशासनले मठमन्दिर बन्द गर्ने सरकारी निर्णय गरेकै हो भने सबै मठमन्दिरहरूलाई उत्तिकै व्यवहार गर्नुपर्‍यो होइन भने भक्तजनलाई रोक्न नहुने पनि पुजारीहरूले बताए ।

सुनसरीको बराहक्षेत्रमा विशेष गरी भारतीय भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गर्दछ । कोकाह र कोशीको संगमस्थलमा भक्तजनहरू नुहाउने र बराहमा जल चढाउने चलन छ । यसपालि कोरोना कहरले धरानका सबै मठमन्दिर प्रशासनले बन्द गराएको छ ।

बराहक्षेत्र मन्दिरलाई भने धरानका मन्दिर जस्तो पुर्णरुपमा बन्द नगरिएको कारण भक्तजनहरू बराहक्षेत्र आएको बताइएको छ । तर, एकादशीमा विगतमा जस्तो भिडभाड हुन नदिन भने निर्देशन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए । सधैको जस्तो मेला लाग्दैन तर भक्तजनहरू भने आउन सक्ने उनले बताए ।

बुधवार सुनसरीका प्रजिअ फडिन्द्रमणी पोखरेल, प्रहरी र सशस्त्रका एसपी, बराहक्षेत्र नगरका मेयर बराहक्षेत्र पुगेका थिए । सो क्रममा बराहक्षेत्र मन्दिर र चतराको औलिया मन्दिरको ५ सय मिटर क्षेत्रमा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

उनका अनुसार मन्दिर आसपास ५ मिटरसम्म सधैको लागि मासु र रक्सी विक्री गर्न, खान रोक लगाइएको हो । ‘मासु र मदिरा दुवै मन्दिरको ५ सय मिटर आसपासमा बिक्री वितरण र खान रोक लगाएका छौँ, प्रजिअ पोखरेलले भने,‘यसपालि भारतबाट कोही आउँदैनन्, नेपालका भक्तजनहरूलाई पनि मन्दिर नजानुस् भन्ने हो, आउनेलाई रोक्दैनौँ ।’

Bhaktajan-1