विराटनगर : प्रदेश १ का तीन वटा मन्त्रालयले सञ्चालन गर्ने सीप मूलक तालिमलाई एकरूपता दिइने भएको छ ।

सीपमूलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरूपता दिनेगरि मन्त्रालयबिच छलफल सुरु भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा बिहीबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबिच छलफल भएको हो । प्रदेश स्तरमा उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरी तीन वटा मन्त्रालयबिचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा तीन वटै मन्त्रालय, सङ्घको सशर्त र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) ले तालिमका लागि करिब ३० करोड बजेट विनियोजन भएको छ । गौतमले भने,‘ कोरोना सङ्क्रमणका कारण सबै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल सुरु गरिएको हो ।

’बिहीबारको छलफलले सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीन वटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदललाई तालिम सञ्चालनको खाँका तयार गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यदलको सुझाव अनुसार नीतिगत रूपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमले बताए ।

छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले लगायतको सहभागिता रहेको थियो ।