धरान : धरान उपमहानगर क्षेत्रका निजी र सरकारी विद्यालयहरूलाई विद्यालय सञ्चालन सम्बन्धी धरान उपमहानगरपालिकाले प्रस्ताव माग गरेको छ ।

कोरोनाका कारण ८ महिनादेखि बन्द भएको विद्यालयहरूमा पठनपाठन सुरु गर्ने कि नगर्ने भनेर धरान उपमहानगरपालिका र विद्यालयहरूले निर्णय गर्न नसकिरहेको अवस्थामा आज प्रस्ताव माग गरेको हो । तर, सङ्घीय शिक्षा मन्त्रालयले भने यसअघि नै ७ वटा विकल्प सहितको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ जारी गरिसकेको छ ।

धरान उपमहानगरपालिकामा मङ्सिर ११ को निर्णय अनुसार नगर प्रमुख स्तरीयबाट विद्यालय सञ्चालनका लागि विद्यालयहरूबाट प्रस्ताव माग गर्ने निर्णय भएकोले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ अनुसार धरान उपमहानगरको शिक्षा महाशाखाले धरानका सबै विद्यालयहरूलाई एक साता अर्थात् मङ्सिर १८ गतेभित्र कुन ढाँचामा विद्यालय सञ्चालन गर्ने भन्ने बारेमा त्यसको प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विद्यालय सञ्चालन प्रस्तावको ढाँचामा विद्यालयको नाम, ठेगाना, सञ्चालन भएको तह, कक्षा, उल्लेख गर्नुपर्नेछ । यस्तै, विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, कक्षा सञ्चालन हुने कक्षा कोठा सङ्ख्या, डेस्क बेन्चको सङ्ख्या, विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ मा उल्लेख भएको ७ विकल्प मध्ये आफ्नो अनुकूलता अनुसार सञ्चालन गर्ने ढाँचा पनि प्रस्तावमा खुलाउनुपर्ने प्रस्ताव पत्रमा उल्लेख गरिएको छ ।

यसै गरी विद्यालय सञ्चालन गर्ने समयावधि, पठनपाठन सञ्चालन गर्ने घण्टी, १ सिफ्ट सञ्चालन गर्दा हुने विद्यार्थी सङ्ख्या, साबुन पानीले हात धुने व्यवस्था भए नभएको, विद्यालयहरूसँग भएको स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्थाहरू मास्क, स्यानिटाइजर, थर्मल गन लगायत पनि प्रस्तावमा उल्लेख गर्नुपर्ने शिक्षा धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

निजी विद्यालयहरूले अभिभावकहरूलाई मनोमानी शुल्क लिएको प्रति अनेरास्ववियुको विरोध

धरानका निजी विद्यालयहरूले अभिभावकहरूलाई डर त्रास देखाएर मनोमानीरुपमा शुल्क बुझाउन दबाब दिएको प्रति अनेरास्ववियुले विरोध जनाएको छ ।

अनेरास्ववियुले आज मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ति बुझाउँदै मनोमानी शुल्क उठाइरहेको प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु धरान उपमहानगरपालिका कमिटीले जारी गरेको विज्ञप्तिमा अभिभावकहरूलाई डर त्रास देखाएर शुल्क बुझाउन दबाब दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

साबिक अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सौरव खड्का र साबिक अखिल क्रान्तिकारीका अध्यक्ष घनश्याम थेबेले जारी गरेको विज्ञप्तिमा उपमहानगरपालिकाको शिक्षा शाखा भए पनि यस्तो बेथिति देखिनु आपत्तिजनक भएको उल्लेख छ ।

कोरोनाको महामारीका कारण विद्यार्थीहरू भौतिकरुपमा विद्यालयमा उपस्थित नभएता पनि यातायात, खेलकुद, कम्प्युटर, ल्याब लगायत विभिन्न शीर्षकमा शुल्क असुल भइरहेको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

Akhil