धरान : धरानमा शुक्रवार विभिन्न सङ्घ संस्थाद्वारा लैङ्गिक हिंसा विरुद्धकी अभियन्ता तथा साइकल यात्री श्वेता श्रेष्ठलाई स्वागत तथा शुभ कामना प्रदान गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानको कार्यालयमा डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत इन्स्पेक्टर हेमराज ओली लगायतको टोलीले अभिनन्दन तथा शुभकामना प्रदान गरी यात्रा सफलताको शुभकामना दिए ।

महिला सञ्जाल धरान, होप धरान, राइट फर राइट नेपाल धरान, लाइन्स क्लब अफ हेल्दिनेसन , साइक्लिङ धरान, पेडलर धरान र स्थानीय मिलेर संयुक्त रूपमा सम्मान गरी १२ हजार नगद प्रदान गरिएको थियो ।

यसै गरी रोटरी क्लब धरानको कार्यालयमा निवर्तमान अध्यक्ष रोटेरियन रबिन श्रेष्ठ, नेवार एकता समाज धरानका अध्यक्ष राजुमान श्रेष्ठ र महिला सञ्जाल धरानकी भूपु अध्यक्ष तथा नेवार एकता महिला समाज धरानकी अध्यक्ष शिला बज्राचार्य लगायतको टोलीले उनलाई स्वागत सम्मान गरी मायाको चिनो दिएर बिदाइ गरेका थिए ।

“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता“ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान“को क्रममा“ इम्पावरीङ वमन अस ट्राभल “भन्ने मूल नाराका साथ पूर्व मेची देखी पश्चिम महाकाली साइकल यात्रामा निस्किएकी श्वेता श्रेष्ठ एकल साइकल यात्री महिला हुन् ।

झापा भद्रपुर निवासी लैङ्गिक हिंसा विरुद्धकी अभियन्ता श्रेष्ठले भनिन्”महिला सशक्त बन्नु भनेकै नै महिला हिंसा कमी हुनु हो” आर्थिक रूपमा महिला समृद्ध नभए सम्म मुलुकबाट हिंसा अन्त्य नहुने बताउँदै उनले महिला सशक्तीकरणका कार्यक्रम प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् । उनले थपिन साइकलमा लामो यात्रा गर्दा धेरै असुविधा हुन्छन् । तर, हार खान्न ।

उनलाई स्वागत गरी मन्तव्य राख्दै शिला बज्राचार्यले यसरी महिलाहरू हिम्मत लिएर एक्लै यस्तो अवस्थामा हिँड्नु भनेको नै महिलाहरूलाई नयाँ दिशा तिर उन्मुख गराउन सहायता मिल्नु बताइन् ।